विराटनगर, फागुन ७
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्व घोषित कार्यक्रम अनुसार मंगलबारबाट पहिलो चरणको जनसंघर्ष कार्यक्रम सुरु गरेको छ । कार्यक्रम अन्र्तगत सो पार्टीले सातै प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत प्रधानमन्त्री तथा नेपाल सरकारलाई आफ्ना मागको बिषयमा ज्ञापनपत्र पठाएको छ ।
सो पार्टीको प्रदेश १ कार्यसमितिले विराटनगरस्थित प्रदेश एकको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय मार्फत प्रधानमन्त्री र नेपाल सरकारलाई २२ बुंदे माग सहितको ज्ञापनपत्र पठाएको छ । ¥यालीसहित मुख्यमन्त्री कार्यालय पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टी आबद्ध नेता तथा कार्यकर्ताहरुले उक्त कार्यालयका उपसचिव चन्द्रबहादुर कार्की मार्फत प्रधानमन्त्री र मुख्यमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र हस्तान्तरण गरेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश समिति अध्यक्ष राम थापाले उपसचिव कार्कीलाई ज्ञापन हस्तान्तरण गरे ।
ज्ञापन वाचन गर्नुहुंदै अध्यक्ष थापाले दशबर्षको सशस्त्र द्वन्द तथा अर्को दशबर्षको संक्रमणकाल पश्चातपनि आम जनताले सकारात्मक परिवर्तनको अनुभुति गर्न नपाएको दाबी गरे । उनले केन्द्रमा दुइ तिहाईको बहुमतको सरकार रहेपनि स्थायित्व र समृद्धिको जनचाहना अधुरै रहेको दाबी गरे ।
प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनमा धर्मनिरपेक्षता खारेज गरि पुर्ण धार्मिक स्वतन्त्रता सहित नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने,राजसंस्था सहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायमगर्न सर्वपक्षिय गोलमेच सम्मेलन गर्नुपर्ने र संघीयताबारे जनताको अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्नुपर्ने लगायतको माग गरिएको छ ।
२२ बुंदे माग समेटिएको ज्ञापनपत्रमा फाल्गुण मसान्त भित्र माग पूरा नगरिएमा चैत्र पहिलो साताबाट देशब्यापी जनसंघर्ष चर्काउने चेतावनी दिइएको छ । सो पार्टीले त्यसअघि फाल्गुण १५ देखि ३० गतेसम्म मेचीकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने जनाएको छ । ताप्लेजुङको पाथिभरा मन्दिरबाट सुरु हुने यात्रा काठमाडौमा समापन हुने सो पार्टीले जनाएको छ ।