विराटनगर, फागुन ७
नागरिकता पिडित संघर्ष समिति मोरङले नेपालको संविधानअनुसार जन्मसिद्ध र बंशजको आधारमा नागरिकता उपलब्ध गराउन सरकारसँग माग गरेको छ । संविधान अनुसार विराटनगरमा बसोवास गरिरहेका ४ सयभन्दा बढी मुस्लिम युवाहरु नागरिकता नपाएर शिक्षा र रोजगारीबाट वञ्चित भएको समितिले गुनासो गरेको छ ।
आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष इशान खानले तत्काल संविधानमा उल्लेख भएअनुसार नागरिकता उपलब्ध गराउन माग गरे । अध्यक्ष खानले नेपालको संविधान जारी भएको ३ वर्ष बितिसके पनि आफूहरु नागरिकताबाट वञ्चित हुनुपरेको गुनासो पोखे ।
उनीहरुले २०७० सालमा गृह मन्त्रालयद्वारा गरिएको नागरिकता सम्बन्धि पत्रचार खारेज गर्नसमेत माग राखेका छन् । उनीहरुले बुवा बेपत्ता वा मृत्यु भएको अवस्थामा एकल महिलाका सन्तानलाई आमाको नागरिकताको आधारमा विधि प्रक्रिया पूरा गरि नागरिकता उपलब्ध गराउन माग गरेका छन् । संघर्ष समितिका सचिव मो.तोसिफले बंशजको आधारमा सरकारले नागरिकता नदिए अनसनसहित चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिए ।