विराटनगर, फागुन ११
एसबीएससी मोरङ जिल्लास्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिताको उपाधि विराटनगरमा रहेको सुम्निमा बोर्डिङ स्कूल र सुन्दर हरैचाकोे सिद्धार्थ बोर्डिङ स्कूलले जितेको छ । जिल्लाका ३३ स्कूलहरूलाई पछि पार्दै जुनियर स्कूलतर्फ सुम्निमा र सिनियरतर्फ सिद्धार्थ स्कूल प्रथम भएका हुन् । सुम्निमा स्कुलको सुमन चौधरी र सिद्धार्थको रोसन लिम्बुले बनाएको चित्र प्रथम भएको हो ।
संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोरङले विराटनगरमा शनिबार आयोजना गरेको चित्रकला प्रतियोगिताको जुनियरतर्फको द्धितीय ग्रेडेड स्कूलकी रोजीशा शिवभक्तीले बनाएको चित्र भयो भने तृतीय सुम्निमा स्कूलका मायुखा जोसीले बनाएको र सान्तवना मदरल्याण्ड एकाडेमी स्कूलकी प्रिति मेहताले बनाएको चित्र भयो ।
त्यस्तै सिनियरतर्फको द्धितीय विराटनगरस्थित एभरेष्ट स्कूलका राहुल चौधरीले बनाएको भयो । तृतीय ग्रेडेड स्कूलका अनुराग पौद्धारले बनाएको भयो भने सान्तवना सुन्दरहैँरचामा रहेको सुबिजीमुरका प्रज्जवल शर्माले बनाएको चित्र घोषित भयो । प्रतियोगिताको प्रथम, द्धितीय, तृतीय र शान्तवना हुने विद्यालयहरुका विद्यार्थीहरूले ३ हजार, २ हजार १ हजार र ५ सय रुपैयाँको साथै आकर्षक ट्रफि प्राप्त गरेका थिए । प्रतियोगिताको निर्णायकहरूमा ललित कला केन्द्रका सल्लाहकार नरकुमार श्रेष्ठ र निवास पोखरेल रहेका थिए । प्रतियोगितामा ३५ विद्यालयका ९७ जना विद्यार्थीहरूले सहभागिता जनाएको थिए ।