विराटनगर,फागुन १५
अन्तर्राष्ट्रिय नाटक महोत्सव–२०७५ बुधबारबाट विराटनगरमा सुरु भएको छ । विराटनगरस्थित आरोहण गुरुकुल सुशीला कोइराला नाटक घरमा सुरु भएको नाटक महोत्सवको उद्घाटन गर्दै एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले नाटकको माध्यमबाट समाजलाई सकारात्मक रुपान्तरण गर्न रंगकर्मीहरुलाई आग्रह गरे ।
यसैगरी विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नाटक महोत्सवले सांस्कृतिक अन्तरघुलनको सन्देश दिने बताए । दश दिनसम्म चल्न नाटक महोत्सवका क्रममा विराटनगरस्थित शुशीला कोइराला नाटक घरमा नेपालका पाँच नाट्य समूहको प्रस्तुति रहनेछ ।
आरोहण विराटनगरको ‘विराट पर्व’, झोराहाट नाट्य समूहको ‘घरभित्रको अर्को घर’, परिवर्तन थिएटर काँकडभिट्टाको ‘बिटुलो आख्यान’, थिएटर नेपाल उदयपुरको ‘देश बनाउँछु भन्नेहरु’, र कदम थिएटर दमक झापाको ‘गैंडा टाईम्स’ रहेका छन् ।
पाहुना देशका नाट्य समूहहरुमध्ये बंगलादेशको मातब्रिङ, भारतको चम्पावती, श्रीलंका लभ एण्ड लाइफ, अफगानस्तान ता राहाये र इटालीको दशाप्रेसिड ओएस–४३ रहेको छ । यसैगरी श्रीलङकाको लभ एण्ड लाइफ, अफगानस्थानको ता राहाये नाटक मञ्चन हुनेछ ।
इटालीको नाट्य समूहले रंगमञ्चसँग सम्बन्धित तीन दिने कार्याशाला सञ्चालन गर्नेछ । हरेक नाट्य समूहले एउटा विधामा प्रस्तुत गर्ने नाटक साँझ ५ बजेदेखि सुरु हुनेछ ।