एजेन्सी, फागुन १६
स्पेनिस कोपा डेल रे फुटबलमा सेमिफाइनलअन्तर्गत गत राति भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई उसकै घरमा ०–३ ले हरायो । पहिलो लेग १–१ मा टुंगिएको अवस्थमा दोस्रो लेगमा सहज जित निकाल्दै बार्सिलोना समग्रमा ४–१ को जितसहित छैटौंपटक कोपाको फाइनल पुग्यो ।
रियल मड्रिडको घर सान्टियागो बेर्नाबेउमा भएको सो खेल दौरान एक रोचक दृश्य देखिएको थियो । मैदानको एक साइडमा बार्सिलोनाका पाहुना दर्शक करिब २ सयको संख्यामा बसेका थिए । पहिलो हाफमा उनीहरू मौन थिए ।
तर, जब दोस्रो हाफमा बार्सिलोनाले खेलमा ०–२ को अग्रता लियो, उनीहरूले रियलको ‘मजाक उडाउन’ थाले । उनीहरू त्यत्तिमै अडिएनन् । जब खेलको ७३औं मिनेटमा लुइस स्वारेजले पेनाल्टीबाट बार्सिलोनाका लागि तेस्रो गोल गरे, रियलको घरेलु मैदानमा पुगेका बार्सलोनाका पाहुना दर्शकले फरक व्यवहार देखाए ।
रियल खेलमा हार्ने पक्का भएपछि उनीहरूले रियलको मजाक उडाउने उद्देश्यले रियलका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोको नाममा गीत गाउन थाले । उनीहरूले रियलले आफ्नै घरमा बार्सिलोनाविरुद्ध गोल गर्ने नसकेकोमा व्यंग्य गर्दै रोनाल्डोको नाममा गीत गाएका थिए ।
बार्सिलोनाका पाहुना समर्थकले त्यस दौरान हु नीड्स रोनाल्डो यानिकी ‘सिआर सेभेन कहाँ छन् ?’, ‘रोनाल्डो कसलाई चाहिन्छ ?’ भन्दै एक स्वारमा गीत गाएका थिए ।