विराटनगर, फागुन २८
नेपाली महिला राष्ट्रिय टोलीलाई सोमबार विराटनगरमा नगद पुरस्कारसहित सम्मान गरिएको छ । ओलम्पिक छनोटमा पहिलो पटक भाग लिएर दोस्रो चरणमा प्रवेश गरेको र भारतमा सम्पन्न हिरो कपमा उपविजेता बनेर आएको महिला फुटबल टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले नगद पुरस्कार प्रदान गरेको हो ।
ओलम्पिक र हिरो कपमध्ये एकमा सहभागीलाई ५०/५० हजार पुरस्कार र दुवै प्रतियोगितामा सहभागीलाई एक लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए । एन्फाले उपलब्ध गराएको सो नगद पुरस्कार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रदान गरे ।
त्यस्तै अफिसियलतर्फ फिजियोमा विवेक विक्रान्त अधिकारी, मनीषा महर्जन र जिनी बज्राचार्यलाई जनही ५० हजार पुरस्कार दिइएको छ । कार्यक्रममा सहायक प्रशिक्षक भगवती राना मगर, गोलरक्षक प्रशिक्षक मृगेन्द्र मिश्र, टोली व्यवस्थापक कमला हिराचन र टोलीका मुख्य प्रशिक्षक हरि खड्कालाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरियो ।
त्यस्तै तीन जना मोरङका खेलाडी सरु लिम्बू, कविता धिमाल र मनमाया लिम्बूलाई विराटनगर महानगरपालिकाको सद्भावना दूतमा नियुक्त गरिएको छ ।
उनीहरुलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उनीहरुलाई विराटनगर महानगरपालिकाको सद्भावना दूतमा नियुक्त गरेका हुन् । उनले मंगलबारबाट विराटनगरमा सुरु हुने पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिपमा विजयको सुभाकामना दिंदै उपाधि उचालेपछि थप नगद पुरस्कारले खेलाडीलाई सम्मान गर्ने घोषणा गरे ।
एन्फाका अध्यक्ष कर्मा्छिरिङ शेर्पाले नेपाली राष्ट्रिय टोलीलाई विजयको शुभकामना दिए । ओलम्पिक छनोटमा पहिलो पटक भाग लिएको नेपाली महिला राष्ट्रिय टोली भारतसँग १–१, म्यानमारसँग १–१ र बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो ।पहिलो पटक भाग लिएको टोली दोस्रो चरणमा प्रवेश गरेको थियो । भारतमा भएको हिरो कपमा भने उपविजेता बनेको थियो ।