एजेन्सी, चैत १७
जारी इन्डियन प्रिमियर लिग(आईपीएल) को शनिबार राति भएको खेलमा सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटलले जित हात पारेको छ । निर्धारित २० ओभरमा रन बराबरी भएपछि सुपर ओभरमा गएको खेलमा दिल्लीले जित हात पार्न सफल भएको हो ।
दिल्लीको घरेलु मैदान फेरोज शाह कोटलामा भएको खेलमा दिल्लीले टस जितेर पहिले बलिङ रोजपछि ब्याटिङमा उत्रिएको कोलकात्ताले २० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । १८६ रन को लक्ष्य पाएको दिल्लीले २० ओभरमा ६ विकेट गुमाइ १८५ नै रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।
लक्ष्य पछ्याउने क्रममा दिल्लीका लागि ओपनर ब्याट्सम्यान पृथ्वी शाले ५५ बलमा ९९ रन बनाइ दिल्लीलाई जितको नजिक पु¥याएका थिए । १९ औं ओभरमा शा आउट भएपछि दिल्लीको इनिङ धरमराएको थियो । १९ औं ओभरको तेस्रो बलमा लोकी फर्गुसनको बलमा ठूलो शट प्रहार गर्न खोज्दा विकेटकीपर दिनेश कार्तिकले क्याच आउट गरेपछि उनी शतक बनाउन चुकेका हुन् । अन्तिम ओभरमा जितका लागि ६ रन चाहिएकोमा कोलकात्ताका कुलदीप यादवले एक विकेट लिँदै ५ रनभन्दा बढी जोड्ने अवसर दिएनन् र खेल बराबरी भयो ।
सुपर ओभरमा पहिले क्याटिङ गरेका दिल्लीका ब्याट्सम्यानले १ विकेट गुमाइ १० रन जोडेका थिए । कोलकात्तालाई ११ रन बनाई जिताउन वेस्टइन्डिजका अलराउन्डर आन्द्रे रसेल र साथमा कप्तान दिनेश कार्तिक क्रिजमा खडा भएका थिए। उनलाई रोक्न बलिङमा दिल्लीले दक्षिण अफ्रिकाका दायाँ हाते फास्ट बलर कागिसो रबाडालाई पठायो । पहिलो बलमा नै चौका प्रहार गरेका रसेल दोस्रो बल डट खेले र तेस्रो बलमा बोल्ड हुन पुगे । त्यसपछिका बलमा रबाडाले कोलकात्ताका ब्याट्सम्यानलाई बाउन्ड्रि हान्ने अवसर दिएनन् । सुपर ओरभमा कोलकात्ताका ७ रन मात्रै बन्यो ।
पहिलाको इनिङमा ४ ओभरमा ४१ रन दिएर सबैभन्दा महंगो बनेका रबाडा सुपर ओभरमा कसिलो बलिङ गरी खेल जिताउन सफल भए । आईपीएल यस सिजनमा पहिलो पटक खेल्ने मौका पाएका नेपालका लेग स्पीनर सन्दीप लामिछाने ४ ओभरमा २९ रन दिएर १ विकेट लिए । यस खेलमा सन्दीपको बलिङ दिल्लीका लागि सबैभन्दा किफायती हो ।
दिल्लीका लागि कप्तान श्रेयस ऐरले ३२ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४३, शिखर धवन १६ र ऋषभ पन्त ११ रन बनाए । कोलकताका कुलदीप यादवले २ तथा आन्द्रे रसेल, पियुष चावला र लोकी फर्गुसनले समान १–१ विकेट लिए ।त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको कोलकता कुनै समय ६१/५ को कमजोर अवस्थामा पुगेको कोलकतालाई आन्द्रे रसेलले विष्फोटक ब्याटिङ गर्दै विशाल योगफल सम्म पुर्याए । १७.५ ओभरमा क्याच आउट हुनु अघि रसेलले मात्र २८ बलमा ६ छक्का र ४ चौका प्रहार गर्दै ६२ रनको महत्वपूर्ण योगदान दिए ।
कोलकतालाई आन्द्रे रसेल र दिनेश कात्तिकले ९५ रनको साझेदारी गर्दै प्रतिस्प्रर्धात्मक योगफल सम्म पुर्याउन सफल भएका हुन् । कात्तिकले ३६ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५० रन जोडे । दिल्लीले सुरुवात राम्रो गरेपनि अन्त्य राम्रो गर्न नसक्दा विशाल लक्ष्य पाएको हो । पियुष चवाला १२ र कुलदीप यादव १० बटुले ।
सन्दीपलले दिल्लीलाई पहिलो सफल दिलाउने क्रममा चौथो ओभरको चौथो बलमा निखिल नाईकलाई ७ रनमा एलवीडब्लू आउट गर्दै पेभिलिएन फर्काए । छैटौं ओभरको अन्तिम बलमा रोविन उथप्पालाई हर्ष पर्टेलले ११ रनमा एलवी डब्लू आउट गरे । लगतै सातौ ओभरको पाँच बलमा कागिसो रबडाले विकेटकीपर ऋषभ पन्तबाट उत्कृष्ट क्याच गराउँदै ओपनर क्रिस लिनलाई २० रनमा आउट गरे ।
आठौं ओभरको पहिलो बलमा हर्ष पटेलले नितेश रानालाई १ रनमा क्याच आउट गरेपछि कोलकता कमजोर अवस्थामा पुगेको थियो । दिल्लीका लागि सन्दीप लामिछानेले १ , हर्ष पर्टेलले २ र कागिसो रबाडा,अमित मिश्रा र क्रिस मोरिसले समान १ विकेट हात पारे ।
सन्दीपको ४ ओभर
इनिङसको दोस्रो ओभरमा नै बलिङ गर्न आएका सन्दीपले आफ्नो ओभरमा मात्र १ रन खर्चे । सन्दीपले निखिल नाईकलाई पहिलो पाँच बल डट गराएका थिए भने अन्तिम बलमा १ रन दिएका थिए । उनको चौथो बलमा कप्तान श्रेयस ऐरले कट बिहाइन्डको अपिल गर्दै रिभ्यु लिएपनि ‘एज’ नलागेको देखिएको थियो ।
चौथो ओभरमा व्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दीपको पहिलो बलमा क्रिस लिनले एक रन लिए । दोस्रो बलमा नाईकले लामो सट खेल्ने असफल प्रयास गरे र तेस्रो बलमा पनि ब्याटमा कनेक्ट हुन सकेन । निकै दवावमा रहेका नाईक चौथो बलमा डिफेन्स गर्ने धुनमा एलबीडब्लू धरापमा परे । नाईक आउट भएपछि क्रिजमा आएका नयाँ ब्याट्सम्यान रबिन उथाप्पाले पहिलो बलमा चौका प्रहार गरे । अन्तिम बलमा पनि उनले १ रन लिए ।
दशौं ओभरमा पहिलो बलमा नै शुभ्मन गिल रनआउट भएपछि दिल्ली बलियो स्थितिमा पुग्यो । १२ औं ओभरमा दिनेश कार्तिकलाई सुरुवाती दुई बल डट गराएपनि तेस्रो बलमा कार्तिकले चौका प्रहार गरे । चौथो बलमा एक रन लिएपछि रसेल स्ट्राइकमा आए । रसेलले पाँचौ बलमा सन्दीपलाई मिड विकेट बाउन्ड्रीमाथि छक्का प्रहार गरेपछि अन्तिम बलमा पनि छक्का प्रहार गर्न सफल रहे । जसले गर्दा अन्य ओभरको तुलनामा केहि महँगो सावित हुन पुगे । सन्दीपले यस ओभरमा १७ रन खर्चिएका थिए ।