एजेन्सी, चैत २३
टोकियो ओलम्पिक २०२० को दोस्रो चरणको छनोटअन्तर्गत दोस्रो खेलमा नेपाली महिला टोली चिरप्रतिद्वन्द्वी भारतसँग पराजित भएको छ ।शनिबार म्यानमारमा भएको खेलमा भारतले नेपालमाथि ३–१ गोल अन्तरको जित निकालेको हो ।
नेपालको एक महिनाभित्र भारतसँग नेपालको यो दोस्रो हार हो । भर्खरै विराटनगरमा सम्पन्न साफ महिला फुटबलको फाइनलमा पनि नेपाल भारतसँगै ३–१ ले पराजित भएको थियो ।त्यसअघि ओलम्पिक छनोटमा बराबरी खेलेको नेपालले भारतमै भएको हिरो गोल्डकपमा हराएको थियो । लगातारको दुई नजिताले नेपालमाथि भारतको दबदबा तोडिने अनुमान गरिएको थियो । साफ च्याम्पियनसिपमा हार बेहारेको नेपालले एक महिना बित्न नपाउँदै फेरी ओलम्पिक छनोटमा पनि भारतसामु हार बहोर्नुपर्यो ।
खेलमा भारतले उपहार गोलबाट अग्रता लिएको थियो । छैटौं मिनेटमा पुनम जर्गा मगरले आत्मघाती गोल गरिन् ।तर, एक मिनेट नवित्दै निरु थापाले बराबरी गोल गरिन् । पहिलो हाफमा दुबै टोलीबाट थप गोल हुन सकेन ।दोस्रो हाफमा भारत हावी भयो । ६० औं मिनेटमा भारतले २-१ को अग्रता लियो भने ७८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ३-१ को जित निकाल्यो ।यो हारसँगै नेपालको ओलम्पिक छनौटको यात्रा सकिएको छ ।
यस प्रतियोगितामा नेपालले अब मंगलबार(९ अप्रिल) इन्डोनसिया विरुद्ध खेल्नेछ । समुहको शीर्ष टोलीमात्र अर्को चरणमा पुग्ने छ । नेपाल यसअघि म्यानमारसँग ३–१ गोलन्तरले पराजित भएको थियो । योसँगै भारतले भने लगातार दुई जित निकालिसकेको छ ।