काठमाडौं, बैशाख ७
मलेसियामा बिहीबार सम्पन्न आईसीसी यू–१९ विश्वकप छनोट अन्तर्गत एसिया प्रतियोगिता खेलेर नेपाली यू–१९ टोली शुक्रबार बेलुका स्वदेश फिर्ता भएको छ ।नेपाली टोली बेलुका ८ बजे त्रिभुवन विमानस्थल आई पुगेको हो । विमानस्थलमा नेपाली यू–१९ टोलीलाई स्वागत गर्न कुनैपनि सरकारी निकाय पुगेका थिएनन् ।
विमानस्थलमा प्रशिक्षक विनोद दास,कप्तान रोहित कुमार पौडेल,भिम सार्की लगातका सबै खेलाडी निरास र उनिहरुको अनुहार मलिन देखिन्थ्यो ।प्रक्षिक विनोद दासले भाग्यले साथ नदिँदा विश्वकप खेल्न नपाएको बताए ।उनले भने ‘यूएईसँगको खेलमा हाम्रा पनि साना सान गल्ती थिए । हरेक दिन पानी परेपनि १०–१५ मिनेटमै सुक्थ्यो पनि । त्यो दिन नै होला सायद पानी परेपछि सुकेन । हामीलाई भाग्यले नराम्रोसँग धोका दियो । राम्रो खेलेर मात्र पुग्दो रहेनछ,भाग्यले पनि साथ दिनु पर्ने रहेछ ।’
कप्तान रोहित कुमार पौडेलले टोलीका सबै खेलाडीले आफ्नो जीवनमा १ रनको महत्व सधैंभर बुझिरहने बताए । उनले यूएईसँगको हारपछि सबै खेलाडी निरास हुनुका साथै केहि खेलाडी रोएको बताए । नेपाल विश्वकपछनोटका ५ खेलमा ८ अंक जोड्दै दोस्रो स्थानमा रहँदै विश्वकपमा छनोट हुन सकेन । शीर्षस्थानमा रहेको यूएईले भने ५ खेलमा १० अंक जोडेको थियो ।
विश्वकप छनोटमा नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा यूएईसँग डकवर्थ लेविस मेथर्डका आधारमा १ रनले पराजित हुँदा तेस्रो खेलमा मलेसियालाई ८ विकेटले हराएको थियो । त्यस्तै चौथो खेलमा ओमानलाई १ सय ५० रनको फराकिलो अन्तरले पराजित गर्दा अन्तिम खेलमा कुवेतलाई ८ विकेटले हराएको थियो। यूएईसँगको एक रनको हारलेनै नेपाललाई विश्वकप सम्म पुर्याउन सकेन ।