विराटनगर, बैशाख १३
बिराटनगरमा भर्खरै संचालित मल,सेन्ट्रल मलमा ग्राहकहरुलाई ठग्ने गरेको एक तथ्य फेला परेको छ । बिभिन्न छुटहरु तथा राष्ट्रियस्तरका कलाकारहरुद्वारा मलको प्रमोशन गर्ने सेन्ट्रल बजारले नेपाल टाईम्स अनलाइन टेलिभिजनका पत्रकार सोनुकुमार दासलाई २ सय रुपैँया मूल्य पर्ने हेयर जेललाई २ सय १५ रुपैयाँमा बेचेको छ ।

हेयर जेलमा अंकित मूल्य भन्दा पनि कुल ७ प्रतिशत मुनाफा राखी बेचिएको पाइएको छ । पत्रकार दासले सोमबार ८ वटा सामान साँझको समयमा किनेका थिए ।
घर गएर किनेको सामानको बिल हेर्दा ग्याट्सबाई वाटर भनिने जेलको डब्बामा रु २ सय मूल्य अकिंत थियो भने सेन्ट्रल मलले बिलमा २ सय १५ रुपैँया कटाएको थियो ।

सोहि दिन यस बिषयमा पत्रकार दास बढि मूल्य लिएको बारे बुझन ८ बजेर ५५ मिनेटमा सेन्ट्रल मल गएका थिए । राति ९ बजे बजार बन्द भएको हुँदा सो ठाँउका सुरक्षागार्डले पत्रकार दासलाई भित्र जान नमिल्ने र भोलि मात्र यस बिषयमा कुनै आधिकारिक जानकारी आउने बताए ।
यता दासले आफु आज ठगिएको अनि यस बिषयमा कुरा गर्न भोलि किन आउनु भनिरहँदा त्यहाँ उपस्थित एक जना सुरक्षागार्डले मलका एक जना प्रतिनिधिलाई बोलाएका थिए ।

सेन्ट्रल बजारका ग्रोसरी डिपार्टमेन्ट हेर्ने रवि ठाकुर आएसंगै पत्रकार दासले आफुलाई किन ठगेको भन्दै जिज्ञाशा राखेका थिए । जवाफमा उनले २ सय रुपैयाँ पर्ने जेलमा २ सय १५ रुपैँया लिनु आफुहरुबाट गल्ती भएको स्विकार गरेका थिए । ठाकुरले आफुले नठगेको तर प्राविधिक कारणले यस्तो त्रृटि भएको बताए ।
दासले आफुले पाउने १५ रुपैँया पाएरै छाडे
तोकेको मूल्य भन्दा बढि लिएको १५ रुपैयाँ सेन्ट्रल मलले पत्रकार दासलाई फिर्ता गरेको छ । आफुहरु नयाँ फेजमा रहेको हुँदा यस किसिमको त्र्ुटि भएकाले अब उपरान्त यस किसिमको गल्ती नदोहोरिने सेन्ट्रल मलका ग्रोसरी हेर्ने ठाकुरले बताए ।

सेन्ट्रल मलप्रति उपभोक्ताको गुनासो
यस अघि पनि सेन्ट्रल मलप्रति उपभोक्ता तथा पत्रकार सन्तोष सिग्देलले प्रत्यक्ष तथा सामाजिक संजाल मार्फत गुनासो गरेका छन् । नेपाल टाईम्सले सम्पर्क गर्दा सेन्ट्रल मलले १ सय ६५ रुपैयाँ मूल्य निर्धारण गरेको कालो तिललाई १ सय ६७ रुपैयाँ लिएको उनले गुनासो गरे । उनले यसको प्रमाण आफूसँग सुरक्षित रहेको भन्दै देखाउन पनि भ्याए । यति मात्र होइन् सेन्ट्रल मलको वेबसाइटमा ग्रोसरीमा १० प्रतिशत छुट रहेको उल्ल्ेख गरिएको छ । तर उक्त मलको ग्रोसरीमा सबै सामानमा १० प्रतिशत छुट नरहेको देखिएको छ ।
न त संचालकको फोन उठ्यो न त मलको ल्याण्ड लाइन नै
यता, यस बिषयमा थप बुझनका लागि नेपाल टाईम्सले मलका सञ्चालक प्रकाश मुन्दडालाई फोन सम्पर्क ग¥यो तर सञ्चालक मुन्दडाको फोन नै उठेन । त्यससंगै सेन्ट्रल मलको वेब साइटमा उल्लेखित फोन नं ०२१—५३४६५३ मा साँझ ५ः३९ मा फोन सम्पर्क गर्दा सो फोन पनि उठेन ।

बढी मूल्यमा सामान बेच्दा उपभोक्ता संरक्षण ऐन, २०७५ ले के भन्छ ?
उपभोक्ता संरक्षण ऐन, २०७५ को परिच्छेद २ को उपभोक्ता संरक्षण व्यवस्थामा आधारित उपाभोक्ता अधिकारको दफा ३ को उपदफा १ बमोजिम प्रत्येक उपभोक्तालाई गणुस्तरीय वस्तु वा सेवा प्राप्त गर्ने अधिकार छ । यो दफा आक्रशित हुँदा सेन्ट्रल बजार दोषी देखिएको छ । सोहि ऐनको दफा ११ को खण्ड (ग) बमोजिम सेन्ट्रल मलले सर्वसाधारणले स्पष्ट रूपमा देख्ने बझ्ुने गरी वस्तुहरुको मूल्य सूचक गरेको छ तर सुचक मूल्य भन्दा बढिमा बेचिएको पाइएको छ ।

कसुर र सजाय सम्बन्धी व्यवस्था
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ को उपदफा २ को खण्ड (घ) बमोजिम कुनै वस्तु वा सेवाको वास्तविक आधारभन्दा फरक आधारमा उपभोक्ता मूल्यमा भार पर्ने गरी मूल्य निर्धारण गरेमा सोहि ऐन को दफा ३८ को खण्ड (च) बमोजिम कसुर मानिने छ । सोहि ऐनको दफा ३८ को खण्ड (च) बमोजिम कसुर गर्ने र गराउनेलाई दुई बर्ष देखि पाँच बर्ष सम्म कैद वा चार लाख देखि छ लाख रुपैयाँ सम्म जरिवाना हुने ब्यवस्था छ ।
