विराटनगर, वैशाख १५
बृहत विराट क्षेत्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सर्ब सम्मतीले पारित भएको छ । प्रदेश नं. १ को आइतबार बसेको प्रदेश सभा बैठकले विधेयक संशोधनसहित पारित गरेको हो ।
सरकारले ल्याएको बृहत विराट विकास क्षेत्रको अवधारणमा थप पाँच वटा पालिका थपिएका छन्। यस अघि सुनसरी र मोरङ जिल्लाका १२ वटा पालिकाको केन्द्र भागमा सुनसरीको इटहरीलाई पार्ने गरी बृहत विराट क्षेत्र विकासको अवधारण अघि सारिएको थियो ।
विधेयक माथि सत्ता पक्ष र प्रतिपक्षका सांसदले संशोधन दर्ता गरेपछि सुनसरीका दुई र मोरङका तिन पालिका बृहत विराट क्षेत्र विकासको अवधारणमा समेटिएको हो । अब बृहत विराट क्षेत्र विकासको अवधारणमा १९ वटा पालिका समेटिएका छन ।
जसमा संशोधन गरी थप गरिएका पालिकामा सुनसरीको कोशी गाँउपालिका र बराह नगरपालिका रहेका छन् । त्यसैगरी मोरङका रंगेली,धनपालथान र केराबारी गाँउपालिका समावेश गरिएको छ ।
विधेयक माथि १५ जना सांसदले संसोधन दर्ता गराएका थिए । जसमा सत्तापक्षका १२ जना रहेका थिए भने प्रतिपक्ष नेपाली काग्रेसका २ जना सांसदले संशोधन दर्ता गराएका थिए ।
संघीय समाजबादी पार्टीका संसदीय दलका नेता जयराम यादवलेपनि संसोधन दर्ता गराएका थिए । संशोधनकर्ता सांसदले यसको क्षेत्र बिस्तार गर्नु पर्ने माग सहित संशोधन गर्दा गराएपछि सरकारले उनीहरुको मागलाई सम्बोधन गदै १२ पालिकामा समेटिएको बृहत विराट क्षेत्र विकासको अवधारणमा थप पाँच पालिकालाई समावेश गरेको हो ।
आन्तरीम मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले विधेयकमाथि दर्ता भएको संशोधनलाई सम्बोधन गदै सरकारले यसको सिमा क्षेत्रलाई बिस्तार गरेको बताएका थिए ।
त्यसैगरी मन्त्री कार्कीले बृहत विराट क्षेत्र विकासको तालुक मन्त्रालयका रुपमा भौतिक पुर्वाधार मन्त्रालय तोकिएको जानकारी दिए । भौगोलिक हिसाबमा इटहरी केन्द्र भागमा पर्ने गरी बृहत विराट क्षेत्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेश संसदमा दर्ता भएपछि २४ जना सांसदले त्यसको शैद्धान्तिक छलफलमा भाग लिएका थिए ।
उनीहरुले यो विधेकलाई राजधानीसँग जोडेर ल्याएको हुनसक्ने आशंका गरेका थिए भने कतिपयले विराट क्षेत्र विकासको अवधारणमा पहाड र हिमालका जिल्लालाई विकासको अवधारणाबाट टाठा बनाउन खोजिएको आशंका व्यतm गरेका थिए ।
सरकारद्वारा बृहत विराट विकास क्षेत्रमा सुनसरीका सात र मोरङका पाँचवटा पालिका समेटिएको थियो । जसअनुसार मोरङको विराटनगर महानगरपालिका, सुन्दरहरैंचा नगरपालिका, कटहरी, ग्रामथान र बुढीगंगा गाउँपालिका छन् ।
यसैगरी सुनसरीतर्फ धरान र इटहरी उपमहानगरपालिका, दुहबी र रामधुनी नगरपालिका, त्यस्तै बर्जु र गढी गाउँपालिका समेटिएका थिए । क्षेत्रगत हिसाबले पनि यी सबै पालिकाको बीच भागमा इटहरी अवस्थित छ । उत्तरतर्फ धरान, दक्षिणमा दुहबी, गढी, बुढीगंगा र विराटनगर, पश्चिमतर्फ रामधुनी, पूर्वतर्फ सुन्दरहरैंचा तथा ग्रामथानले इटहरी घेरिएको थियो ।