पर्सामा आइतबार साँझ आएको भीषण वर्षासँगै हावाहुरी र चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने आधादर्जन घाइते भएका छन् । चट्याङ लागेर ठोरी गाउँपालिका वडा नम्बर १ का २१ वर्षीय राजु विष्टको मृत्यु भएको हो । घर देखि मुनि खेतमा भैँसी चराउन गएका बेला खसेको चट्याङले लागेर विष्टको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।
दार्चुला जिल्ला घर भएका विष्ट, कक्षा ११ को परीक्षा सकेर ठोरी स्थित मावली घरमा दुई साता देखि बस्दै आएका थिए । चट्याङ लागेर भैँसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराईका अनुसार, वीरगन्ज ७ रामटोलमा महेश साहको निर्माणधीन घरको पर्खाल भत्किदा त्यसमा च्यापिएर स्थानीय १६ वर्षीय ओम प्रकाश साह, १८ वर्षीय दीपेन्द्र पटेल र १५ वर्षीय सुनिल पटेल तथा वीरगन्ज १६ इनरुवामा नेक महम्मदको आफ्नै घर भत्किन जाँदा उनकी छोरी १४ वर्षीया गुल्सन खातुन र पत्नी ३८ वर्षीय शायदा खातुन घाइते भएका हुन् । पाँचै जना घाइतेको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।