३२ जेष्ठ, काठमाडौं ।
गुठी विधेयकको विरोधमा राजधानीको बसन्तपुर दरबार क्षेत्रमा प्रर्दशन भएको छ ।
ज्यापू महागुठी नेवाः केन्द्रीय समितिको आव्हानमा शनिबार विहान बसन्तपुर दरबार क्षेत्रमा विरोध प्रर्दशन गरिएको हो । ज्यापू महागुठी अन्र्तगतका विभिन्न गुठीका गुठीयार तथा सर्वसाधरण सम्मिलित प्रर्दशनमा परम्परागत धार्मिक, सांस्कृतिक धरोहर अतिक्रमण गर्ने गरि गुठी विधेयक ल्याईएको भन्दै विरोधमा नाराबाजी गरिएको थियो । प्रर्दशनकारीले नेवाः एकता जिन्दावाद, गुठी विधेयक खारेज गर,सांस्कृतिक अतिक्रमण बन्द गर, नेवा अव जाग्दैछ, आफ्नो अधिकार खोज्दैछ लगायतका नारा लगाएका थिए । ज्यापू महागुठी अन्र्तगतका गुठीहरुहरुको संलग्नतामा निकालिएको विरोध र्याली न्यूरोड, जैसीदेवल लगायतका स्थान हुदै बसन्तपुर दरबार क्षेत्र पुगी कोणसभामा परिणत भएको थियो ।
सरकारले ल्याएको गुठी विधेयकको सडक देखि सदन सम्म विरोध हुदै आएको छ । सत्तारुद दलकै सांसदहरुले पनि यो विधेयकको विरोध गर्दै आएका छन् ।
सरकारले मुलुकभरका गुठीहरुको व्यवस्थापन लगायतका कामका लागि प्राधिकरण गठन गर्ने र गुठीको जग्गा भोगचलन गर्दै आएका किसानको नाममा रजिष्ट्रेशन पास गरिदिने व्यवस्था सहितको गुठी विधेयक ल्याएपछि त्यसले परम्परागत धार्मिक तथा सांस्कृतिक धरोहरको अस्तित्व समाप्त पार्ने भन्दै मुलुकभरका गुठीहरु विरोधमा उत्रिएका हुन् । गुठी विधेयकको विरोधमा राजधानी लगायत मुलुकका विभिन्न स्थानमा दैनिकजसो विरोध प्रर्दशन हुदै आएको छ भने संघीय संसदमा पनि सांसदहरुले विधेयकको विरोध गर्दै आएका छन् ।