दयाहाङ राईको ‘आप्पा’ नेपालसँगै भारतका २५ हलमा प्रदर्शन हुने

दयाहाङ राईको ‘आप्पा’ नेपालसँगै भारतका २५ हलमा प्रदर्शन हुने

८असार, काठमाडौँ ।
आउँदो शुक्रबार (असार १३) बाट प्रदर्शनमा आउन लागेको अभिनेता दयाहाङ राई स्टारर चलचित्र ‘आप्पा’ नेपालसँगै भारतका मुख्य शहरमा समेत रिलिज हुने भएको छ ।

नारायणघाटमा पत्रकारसँग अन्तरक्रिया गर्दै निर्देशक अनमोल गुरुङले चलचित्र नेपाल सँगै भारतका २५ हलमा फिल्म प्रदर्शन हुने जानकारी दिए । उनका अनुसार ‘आप्पा’ भारतको नयाँ दिल्ली, कोलकता, मुम्बई, सिक्किम, आसाम, दार्जिलिङ, सिलोङलगायतका शहरमा फिल्म लाग्नेछ ।

उनले धेरैपछि नेपाली फिल्म नेपालसँगै भारतमा पनि एकैदिन रिलिज हुन लागेकोमा खुसी व्यक्त गरे । उनले भने–‘नेपाली फिल्मको विदेशमा च्यारिटी शोजहरु प्रायः भइरहेका हुन्छन् तर एकसाथ हलमा रिलिज भने निकै कम हुने गर्छन् । ‘आप्पा’ नेपालसँगै विदेशमा पनि एकसाथ प्रदर्शन हुने फिल्ममा परेको छ ।’

उनले ‘आप्पा’ राम्रो बनेको दाबी समेत गरे । दर्शकलाई एकपटक हलसम्म पुगेर फिल्म हेरिदिन उनको आग्रह छ । यस्तै, टाइटल क्यारेक्टरमा रहेका अभिनेता दयाहाङ राईले फिल्ममा दार्जिलिङदेखि सन्दकपुरसम्मको यात्राको कथा रहेको बताए । एउटा ड्राइभरले गाडी चलाउँदा के–के भोग्नु पर्छ भन्ने मार्मिक कथा फिल्मले उठान गरेको दयाहाङ बताउँछन् ।

एक छोरा र पिताको सम्बन्धको कथामा आधारित भएर बनेको यस फिल्मका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।

‘आप्पा’ मा दयाहाङका अलावा सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चासँगै बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको समेत मुख्य भूमिका रहेको छ । यसमा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन फिल्ममा रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.