८ असार, विराटनगर ।
ठेक्का सम्झौता अनुसार सडक र ढल निर्माण सम्पन्न नगरी ठेकेदारले उपकरण र निर्माण सामाग्री अन्यन्त्र लान खोजेपछि जहदा ४ का स्थानीयले अवरोध गरेका छन् ।
मोरंङको जहदा–४ मा निर्माणाधीन चक्रपथ सडक निर्माणको काम निर्धारित समयमा सम्पन्न नगरी ठेकेदारले उपकरण अन्यत्र लान खोजेपछि स्थानीयबासीले अवरोध गरेका हुन् ।सडक र ढल निर्माणगर्न ल्याइएका निर्माण सामाग्री र स्काभेटर लगायतका उपकरण ठेकेदार पक्षले अन्य साइटमा लान खोजेपछि त्यहांका बासिन्दाले अवरोध पु¥याएका हुन् ।
निर्माणको क्रममा रहेको सडकमा माटो थुपारिएका कारण स्कुल बसहरु आउन नपाएको र गांउमा उब्जनी हुने सागसब्जी समेत बजारसम्म लान समस्या भएको स्थानीयले गुनासो गरेका छन् । हिलाम्मे सडकका कारण गांउमा दमकल र एम्बुलेन्स आउने अवस्था समेत नरहेको उनीहरुको भनाई छ ।
चालु आर्थिकबर्षको असार १५ सम्म निर्माण सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौता रहेपनि ठेकेदारपक्षले निर्माणमा ढिलाई गरेका कारण समस्या उत्पन्न भएकोे वडाध्यक्ष जयनरथ गिरीले जानकारी दिए । यता ठेकेदारका म्यानेजर आरके ठाकुरले भने निर्माण सामाग्री ढुवानी गर्न पर्याप्त बाटो नरहेका कारण निर्माणमा ढिलाई भएको दाबी गरेका छन् । उनले असार मसान्तसम्म सडक ग्राभेल गरिसक्ने लिखित प्रतिबद्धता समेत जनाएका छन् ।
संघीय सरकारको ५७ लाखको लगानीमा त्यहां ७ सय ६० मिटर कालोपत्रे सडक निर्माण हुन लागेको हो । स्थानिय महेन्द्र चौकदेखि सिसौबारीसम्म निर्माण हुने सो सडक ६ मिटर चौडाइको रहने जनाइएको छ । सप्तरीको रामा बिल्डर्स प्रालिले त्यस ठांउमा सडक निर्माणसहित २ सय ५० मिटर नाला निर्माणको ठेक्का पाएको छ ।