बैतडी : ठूलो धनराशि खर्च गरेर बैतडीलाई खुला दिसामुक्त जिल्ला घोषणा गरियो तर सदरमुकाममै सार्वजनिक शौचालय छैन । जताततै खुला दिसापिसाब गर्ने गरिएको छ ।
सरकारी तथा गैरसरकारी संस्थाको पहलमा जिल्लाभरि शौचालय बनिसकेको भन्दै तीन वर्षअघि तामझामका साथ खुला दिसामुक्त क्षेत्र घोषण गरिएको थियो । खानेपानी मन्त्रीकै आतिथ्यमा खुला दिसामुक्त क्षेत्र घोषणा पनि भयो तर अहिलेसम्म खानेपानी शुद्ध हुन सकेको छैन । खानेपानीमा दिसामा हुने जीवाणु (कोलिफर्म) देखिएपछि सर्वसाधारणको स्वास्थ्यमा गम्भीर सङ्कट उत्पन्न भएको छ ।
पिउने पानीमा कोलिफर्म भेटिन थालेपछि नागरिक समाजका तर्फबाट खुला दिसामुक्त जिल्ला घोषणा बदर गर्र्ने माग गर्नुपर्ने बैतडीका बुद्धिजीवी एवं सामाजिक अभियन्ता डा. केदारचन्द्र भट्ट बताउँछन् ।“खुला दिसामुक्त जिल्ला त घोषणा गरियो तर बैतडी आउने साना सहरी खानेपानीको मुहान वरिपरिका बस्तीमा खुला दिसापिसाब भइरहेको छ । सर्वसाधारण खुला दिसापिसाब गर्न बाध्य छन् । पैसा सक्न कागजमा मात्रै खुला दिसामुक्त जिल्ला घोषणाको के अर्थ भयो ?’’, भट्टले प्रश्न गर्दै भन्नुभयोे । ,यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएकाे छ ।