१७ असार, जनकपुर ।
जिल्ला अदालत धनुषाले जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानियाको हत्यामा दोषी ठहर गर्दै पूर्वराज्यमन्त्री सञ्जय साहलाई जन्मकैदको फैसला सुनाएको छ ।
न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले साह र मनक लामालाई जन्मकैदको फैसला सुनाएको हो । साहलाई हत्याकाण्डको योजनाकार मानिएको छ । लामाले साहकै निर्देशनमा आफूले सिंघानियालाई गोली हानेको बयान अदालतमै दिएका थिए । सिंघानिया हत्या आरोपमा पक्राउ परेका एकलाल सहनी, पवन लामा र चनरदीप यादवलाई १० बर्षको कैद सुनाइएको छ । यस्तै रामविनोद यादवलाई ३ बर्ष कैद सुनाइएको छ । ओमप्रकाश यादव, रामकरण यादव र अन्सी राइनले सफाइ पाएका छन् भने मुकेश चौधरीलाई २० रुपैयाँ जरिवाना तोकिएको छ । २०६६ साल फागुन १७ गते होली पर्वकै दिन जनकपुरको शिव चोकमा सिंघानियाँको गोली हानेर हत्या गरिएको थियो ।
यस्तै पूर्वराज्यमन्त्री साहलाई यसअघि नै जनकपुर बम विष्फोट मुद्दामा जन्मकैद फैसला सुनाइसकिएको छ । सात बर्षअघि सात जनाको ज्यान जाने गरी जनकपुरमा भएको बम विष्फोट घटनाका योजनाकार भएको भन्दै धनुषा जिल्ला अदालतले जन्मकैद फैसला सुनाएपछि उनी कारागारै जीवन बिताइरहेका छन् ।