एजेन्सी, असार १८
अर्जेन्टिनालाई पराजित गर्दै घरेलु टोली ब्राजिल कोपा अमेरिका २०१९ को फाइनलमा प्रवेश गरेको छ । चिर परिचित प्रतिद्वन्द्वी अर्जेन्टिनालाई सेमिफाइनलमा २–० ले पराजित गर्दै ब्राजिलले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।
खेलको १९ औं मिनेटमा ब्राजिलका लागि ग्याब्रीएल जेससले गोल गर्दै अग्रता दिलाए । मिडफिल्डबाट कप्तान ड्यानी आल्भेसले उत्कृष्ट बल नियन्त्रण गर्दै फिर्मिनोलाई दिएको पासमा फिर्मिनोले पेनाल्टी क्षेत्रभित्र दिएको लो क्रसलाई जेससले गोलमा परिणत गरेका थिए ।
अर्जेन्टिनाले खेलको ३० औं मिनेटमा खेल बराबरीमा ल्याउने सुवर्ण अवसर गुमायो । कप्तान लिओनेल मेस्सीले पेनाल्टी क्षेत्रभित्र दिएको बललाई सर्जियो अगुएरोले गरेको हेडर प्रहार क्रसबारमा लागेर फर्किएको थियो । त्यसपछि ३६ औं मिनेटमा मेस्सीले दिएको पासमा अगुएरोले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार सिल्भाले छेकेका थिए ।
दोस्रो हाफको सुरुवात देखिनै अर्जेन्टिनाले ब्राजिललाई दबाबमा राखेको थियो । लगातार केहि असफल आक्रमणपछि ५७ औं मिनेटमा कप्तान मेस्सीले झन्डै १० यार्ड टाढाबाट गरेको प्रहार पोस्टमा लागेर फर्कियो । त्यसको रिबाउन्डमा मेस्सीले दिएको क्रसलाई अगुएरोले गोलमा परिणत गर्न सकेनन् ।
ब्राजिलले ७१ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता दोब्बर बनायो । काउन्टर अट्याकमा अगाडी बढेको ब्राजिलका लागि रोबर्टो फिर्मिनोले गोल गरे । उनले जेसेसले दिएको पासलाई गोलमा परिणत गर्दै ब्राजिललाई फाइनलनजिक पुर्याएका थिए ।
निकै प्रतिस्पर्धात्मक रहेको खेलमा थप समयमा गोल हुन नसकेपछि ब्राजिल फाइनल प्रवेश गर्यो । ब्राजिलले उपाधिका लागि चिली र पेरुबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ ।