एजेन्सी, असार १८
मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन २०१९ मा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले प्रतियोगिताको पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । चीनले समुह चरणका दुबै खेल हारेपछि समुह ए का नेपाल र सिंगापुर स्वत सेमिफाइनलमा प्रवेश गरेका हुन् । चीन मंगलबार सिंगापुरसँग ८ विकेटले पराजित भएको थियो ।
बुधबार चीनले प्रस्तुत गरेको ५४ रनको लक्ष्य नेपालले ५ ओभरमै कुनै विकेट नगुमाई पुरा गर्यो । नेपालको सहज जितमा सिनियर टिमबाट खेलि सकेका ओपनर पवन सरार्फ २१ बलमा ६ चौका र ३ छक्का सहित ४६ रनमा अविजित रहे । त्यस्तै रित गौतम १० बलमा १ चौका सहित रनमा १० नट आउट रहे ।
त्यसअघि किनारा ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चीनले २३.१ ओभरमा अल आउट हुँदै ५३ रनमा समेटियो । नेपालको घातक बलिङ सामु चीनका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
पहिलो विकेटका लागि लियाङ चेन र गौओ गाओले ६ ओभरमा १८ रनको साझेदारी गरेका थिए । यी दुईबीचको साझेदारी छैटौं ओभरको अन्तिम बलमा सागर ढकालले गाओलाई १३ रनमा कप्तान रोहित कुमार पौडेलबाट क्याच आउट गराउँदै तोडे । उनले २४ बलमा २ चौका प्रहार गरे । आगो आउट भएसँगै चीनको विकेट पतन सुरु भएको थियो । कुनै पनि ब्याट्सम्यान नेपाली बलरको कसिलो बलिङमा मैदानमा लामो समय टिक्न सकेनन् ।
सातौं ओभरको पाँचौ बलमा लियुगान वाङलाई कमलसिंह ऐरीले भिम सार्कीबाट क्याच गराउदै शून्यमा पेभिलएन फर्काए । सागरले आठौं ओभरको अन्तिम बलमा वेई गुओलीलाई २ रनमा स्टम्पिङ आउट गराए । यसै खेलबाट य–ू१९ टोलीमा डेब्यू गरेका तिलकराज भण्डारीले १५ ओभरको पहिलो बलमा झु येन फेङ्गलाई ४ रनमा बोल्ड आउट गरे । तिलकलेनै १७ ओभरको अन्तिम बलमा ओपनर लियाङ चेनलाई १३ रनमा विकेटकीपर हरि बहादुर चौहानबाट क्याच गराउँदै पेभिलिएन फर्काए । एयु क्विन युन डक,रुई होयु ३,झुओयई चेन २,तियान सने क्युन डक आउट भए ।
चीनलाई सस्तैमा रोक्न सागर ढकालले ९.१ ओभरमा ३ मेडन सहित १९ मात्रै रन खर्चेर ६ विकेट लिए । त्यस्तै तिलक राज भण्डारीले ७ ओभरमा ३ मेडन सहित १५ रन खर्चेर ३ विकेट हात पारे । कमलसिंह ऐरीको नाममा विकेट रह्यो ।
नेपालले दोस्रो खेल आगमी सिंगापुरसँग खेल्ने छ । सिंगापुर र नेपालबीचको नतिजाले समुह विजेता र उप विजेताको टुङ्गो लाग्ने छ ।