२४ असार, काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंबाट हङकङ जान लागेका मोरङको सुन्दरहरैँचा ९ घर भइ राहदानी नं ०८००६७५७ वाहक ३९ वर्षीय पासाङ याल्मो तामाङ छन् । उनले बोकेको कालो रंगको सुटकेश र खैरो रंगको हाते झोलालाई चेकजाँच गर्दा अमेरिकी डलर २९ हजार ९ सय ५० र हङकङ डलर ३ सय ७० बरामद भएको थियो । उनले अवैध रुपमा ती रकम लुकाएर लान लागेको प्रहरी दाबी छ ।
नेपाल एयरलाइन्सको उडान नं आरए ४०९ बाट हङकङ जान लागेका उनी ब्यागेज चेकिङ एरियाबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई माथि थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुर पठाइएको विमानस्थलका एसएसपी सन्दिप भण्डारीले बताए ।