२५ असार, काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले आर्थिक वृद्धिदर हुने क्षेत्रमा मात्रै लगानी बढाउन बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य प्राप्त हुने क्षेत्रमा मात्रै लगानी बढाउन बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएका हुन ।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तिय संस्थाहरुले रोजगारीको अवसर सृजना गर्ने तथा गरिवी निवारण हुने क्षेत्रमा पनि लगानी बढाउनुपर्ने स्पष्ट पारे ।
गभर्नर नेपालले निक्षेपकर्ताहरुको हितलाई नहेरी नेपाल राष्ट्र बैंकले ब्याजदर तोक्न नसक्ने पनि स्पष्ट पारे । उनले व्यापारीहरुले निक्षेपकर्ताहरुलाई मर्कामा पर्ने गरी ब्याजदर कायम राख्न दवाव दिन नमिल्ने तर्क पनि गरे ।