६ साउन, काठमाडौं ।
सोमबारदेखि सिंगापुरमा सुरु भएको आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले आज (मंगलबार) कतारविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाल र कतारबीचको खेल ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ७ : १५ मा सुरु हुनेछ ।
उपाधि दाबेदार नेपाल कतार विरुद्ध जित हात पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । कतार नेपालविरुद्ध पहिलो जितको खोजीमा हुनेछ । सोमबार भएको पहिलो खेलमा कतार सिंगापुरसँग पराजित भएको छ ।
आईसीसीको एकदिवसीय मान्यता प्राप्त राष्ट्र नेपाल प्रतियोगिताकै शीर्ष बरियता प्राप्त राष्ट्र हो । नेपाल आईसीसीको टी–ट्वान्टी वरियताको ११ औं स्थानमा रहेको छ । कतार भने २१ औं स्थानमा छ ।
नेपाल र कतारबीच हालसम्म ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा ४ एकदिवसीय र २ टी–ट्वान्टी खेल रहेको छ ।४ एकदिवसीयमा ३ पटक नेपालले जितेको छ भने कतारले १ खेलमा जित निकालेको छ । यस्तै टी–ट्वान्टीमा नेपालले १ र कतारले १ खेल जितेको छ ।
।