साउन २०, काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले आफ्ना विरुद्ध भ्रम छर्ने काम गरेको भन्दै आपत्ति जनाएका छन ।
प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उनले सरकारका प्रवक्ताले आफ्नो नाममा भ्रम फैलाउने काम गरेको आरोप लगाएका हुन ।
सरकारका प्रवक्ताले राजेन्द्र महतो लगायत ८ जनाको नागरिकता बदर गरिएको भनेर जानकारी गराएको र सोही अनुसार संञ्चारमाध्यमले पनि समाचार सम्प्रेषण गर्ने काम गरेको भन्दै उनले राज्यले कसैको चरित्र हत्या गर्ने काम गर्न नमिल्ने तर्क गरे ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आईतबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा राजेन्द्र महतो लगायत ८ जनाको नागरिकता खारेज भएको जानकारी गराएका थिए ।
सोही विषयलाई लिएर आफु विरुद्ध गलत प्रचार गर्ने काम भएको भन्दै उनले कुन राजेन्द्र महतो हो भन्ने सरकारले नखुलाएका कारण आफ्नो मानहानी भएको बताए । महतोले आफ्नो मानहानी भएकाले सरकारले माफी माग्नुपर्ने दाबी गरे ।
धारणा राख्ने क्रममा महतोले सभामुख र नेकपा अध्यक्ष पुष्पकमल दाहाललको नाम पनि लिएको भन्दै सत्तारुढ दलका सांसदहरुले नियमापत्ति जनाएपछि सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा नियमावलीको दफा २१ को ख र ङ बमोजिम प्रतिकुल हुने गरि प्रयोग भएका शब्दहरु रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक मंगलबार अपरान्ह १ बजेका लागि बोलाईएको छ ।