मकवानपुर, २६ साउन । बन्द र रुग्ण भएकामा मात्र होइन, चालू अवस्थामै रहेको उद्योगमा समेत मन्त्रीनिवास बनाइएको छ । उद्योगका कर्मचारी बस्ने भवनहरूमा अहिले प्रदेश ३ का मन्त्रीहरूको निवास बनाइएको छ ।
८ माघ ०७४ मा प्रदेश सरकार गठन भएपछि सबै मन्त्री हेटौँडा सिमेन्ट उद्योगका भवनमा बस्न थालेका हुन् । मन्त्रीहरूले उद्योगलाई नै घरहरू मर्मतसम्भार र रङरोगन गरेर झकिझकाउ बनाउन लगाए ।
आन्तरिक मामिलामन्त्री शालिकराम जमरकट्टेल, उद्योगमन्त्री अरुण नेपाल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, भूमि व्यवस्थामन्त्री दावादोर्जे लामा र सामाजिक विकासमन्त्री युवराज दुलालको सरकारीनिवास उद्योगका भवनमा बनाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
उद्योगका ८, ९ र १० तहका कर्मचारीलाई दिइएको क्वार्टरमा मन्त्रीहरू राखिएको हो । उद्योगको पूर्वी भागमा सुविधा र व्यवस्थापनको आधारमा बी, सी, डी र ई ब्लक रहेकोमा बी ब्लकलाई मन्त्रीनिवास बनाइएको छ । सो ब्लकमा बस्दै आएका कर्मचारीलाई सी र डीमा स्थानान्तरण गरिएको छ ।
ब्लक परिवर्तन गर्दा आफूहरूलाई समस्या भएको उद्योग प्रशासनिक विभाग प्रमुख गणेश कोइरालाले बताए । अर्को व्यवस्था नभएसम्मका लागि भन्दै उद्योगमा मन्त्रीनिवास बनाइएको थियो । आफूहरूको आवास लामो समयसम्म मन्त्रीले प्रयोग गर्दा समस्या भइरहेको उद्योगका कर्मचारीहरूको गुनासो छ ।
जचुकालिमा मुख्यमन्त्री र मन्त्रीहरूको कार्यालयदेखि निवाससम्म
०२१ देखि सुरु भएको जनकपुर चुरोट कारखाना कुनै वेला देशकै राम्रो चलेको उद्योग थियो । जसले साढे चार हजार कर्मचारीलाई रोजगारी दिएको थियो । यो कारखानालाई सरकारले ०७० देखि पूर्ण रूपमा बन्द गर्यो ।
३३ बिघा क्षेत्रफलमा फैलिएको कारखानाको जग्गा र भवन अहिले प्रदेश २ का प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरूको कार्यालयदेखि निवाससम्म छ । त्यस्तै, प्रदेशका प्रमुख सचिव र मुख्य न्यायाधिवक्ताको कार्यालय र निवास कारखानाभित्रै छ । अन्य केही कर्मचारीको निवासको व्यवस्था पनि कारखानाभित्रै छ ।
प्रदेश सरकार गठन भएपछि कारखानाको नाम नै मधेस भवन राखिएको छ । यसअघि कारखानाको ३३ बिघामध्ये २० बिघामा उद्योगका कर्मचारीका लागि निवास, आठ बिघामा कारखाना र पाँच बिघामा गोदाम थियो । कर्मचारीका लागि बनाइएको निवासमा प्रदेशका पदाधिकारी र कर्मचारीले कब्जा जमाएका हुन् ।
बाँकी १३ बिघामा रहेको कारखाना र गोदाम क्षेत्रको रेखदेखका लागि आठ सुरक्षा गार्ड राखिएका छन् । उद्योगको अध्यक्ष र महाप्रबन्धकको जिम्मेवारी उद्योग मन्त्रालयका सहसचिव शोभाकान्त पौडेललाई दिइएको छ ।
रुपन्देही व्यापार संघको भवनमा मन्त्रालय
जनकपुर चुरोट कारखाना भवनमा व्यापार संघ
रुपन्देही व्यापार संघको बुटवलस्थित साढे दुई तलाको भवनमा प्रदेश ५ सरकारको आन्तरिक मामिला मन्त्रालय राखिएको छ । सय व्यापारीले एक–एक लाख तथा अपुग रकम संघले हालेर झन्डै चार करोडमा भवन बनाएको थियो । आफ्नो भवन सरकारले प्रयोग गरेपछि संघले नजिकैको जनकपुर चुरोट कारखानाको भवन रोज्यो ।
मुख्यमन्त्री कार्यालय रहेको भवनसँगै जोडिएको कारखानाको भवनमा संघले एक तला प्रयोग गरेको छ । चार कट्ठा क्षेत्रफलमा फैलिएको चारतले भवनको पहिलो तला आफूहरूले प्रयोग गरेको संघका प्रथम उपाध्यक्ष यमलाल लोहनीले बताए । तर, जीर्ण भवनमा पानी चुहिनेलगायत समस्या रहेको उनको भनाइ छ ।
वीरगञ्ज चिनी कारखानामा उच्च अदालत
वीरगञ्ज चिनी कारखाना बन्द भएपछि उद्योगको खाली आवास क्षेत्रमा ०७३ देखि उच्च अदालत जनकपुरको अस्थायी इजलास स्थापना गरिएको छ । कारखाना बन्द भएको केही वर्षपछि सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय राखियो । पछि सशस्त्रलाई चिनी मिलकै आवास क्षेत्रमा सारेर त्यहाँ उच्च अदालतको अस्थायी इजलास राखिएको हो ।
वेलावेलामा सरकारले कारखाना चलाउने हल्ला चले पनि ठोस काम केही भएको छैन । उच्च अदालतका लागि त्यहाँको भौतिक संरचना अपुग हुँदा सोचेअनुसार काम गर्न कठिनाइ भएको न्यायाधीशहरूले नै बताउने गरेका छन् । पटक–पटक माथिल्लो निकायमा आग्रह गर्दा पनि चासो नदिएको उनीहरूको गुनासो छ । नयाँ पत्रिका दैनिकबाट
