साउन २९, काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले परराष्ट्र मन्त्रालयका कर्मचारीले भारत नेपालबीच सिमा सम्बन्धमा गरिएका पूराना दस्तावेजहरु लुकाएको आरोप लगाएका छन् ।
संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा नेपालले सरकारका कर्मचारीबाट नै पूराना दस्तावेजहरु लुकाउने काम भएको दाबी गरेका हुन् । उनले कर्मचारीको नियत र मुलुक प्रतिको उत्तरदायीत्व माथि नै शंका व्यक्त गरे ।
राष्ट्रसेवक कर्मचारीहरुले अन्य देशको हितमा हुने गरि काम गर्नका लागि विभिन्न किसिमका सुविधा लिने गरेको सुन्नमा आएको भन्दै शंकास्पद कर्मचारीमाथि निगरानी बढाउन सरकारको ध्यानाकर्षण गराए ।
पूर्व प्रधानमन्त्री नेपालले कैलाली घटनाबारे सर्वत्र चर्चा भईरहदा पनि सरकार र सम्बन्धीत निकायले सम्बोधन नहुदा जिम्मेवार व्यक्ति र संस्थाको देशभक्ति नै शंका उत्पन्न भएको टिप्पणी गर्नुभयो ।
सिमा विवाद, विगतमा भएका असमान सन्धि सम्झौता, तटबन्ध, डुबान लगायतका समस्याको समाधान खोज्दा नेपालको हितमा कुठाराघात नहुने गरि खोजिनुपर्ने बताए । उनले तराई क्षेत्रमा बर्षेनी हुने डुबान समस्याको सम्बोधन गर्दा नेपाल भारतको बराबर भन्दा पनि भारतले ठुलो आर्थिक दायित्व वहन गर्नुपर्ने तर्क गरे ।