८ भदौ, काठमाडौं ।
आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेर चितवन प्रहरीको हिरासतमा रहेका टिभी कार्यक्रम सञ्चालक रवि लामिछाने लगायत तीनजनालाई हिरासतमा राखेर अनुशन्धान गर्न चितवन प्रहरीले जिल्ला अदालतबाट पाएको अनुमतिको समय शनिबार सकिएको छ ।
आइतबार उनीहरु फेरि अदालतमा उपस्थित हुने छन् । अनुशन्धान बाँकी रहेमा फेरि म्याद थप हुने र पुरा भए मुद्दा दायर हुने नियम छ ।हिरासतमा लिएको व्यक्तिलाई अनुशन्धान गर्न प्रहरीले अदालतबाट म्याद थप गर्दै २५ दिनसम्म हिरासतमा राख्न पाउने कानुनी प्रवधान छ ।
चितवन प्रहरीले रवि लामिछाने लगायतलाई अनुशन्धान गर्न अदालतबाट दुई पटक गरेर १० दिनको समय पाइसकेको छ । आवश्यकता देखिएमा फेरि म्याद थप हुने र अनुशन्धान पुरा भए जिल्ला न्यायाधीवक्ता (सरकारी वकिल) मार्फत अदालतमा मुद्दा दायर हुने गर्दछ ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी उपरीक्षक दानबहादुर मल्ल यो विषयमा अहिल्यै केही भन्न नमिल्ने बताउँछन् । तर गिरफ्तार भएका व्यक्तिहरु विरुद्ध अनुशन्धानका लागि आज म्याद थप हुने भन्दा पनि मुद्दा दायर हुने सम्भावना बढी रहेको जानकारहरु बताउँछन् ।
मुद्दा दायर भएमा अदालतमा अभियुक्तलाई साधरण तारेख, धरौटी वा थुनामा राख्ने भन्ने विषयमा थुनछेक बहस हुने गर्दछ ।
यस्तो बहस एक दिनमा नसकिने अवस्था पनि रहन्छ ।
मुद्दा दायर भएपछि पक्ष विपक्षका कानुन व्यवसायीहरुको बहस सुनेपछि मात्रै न्यायधीसले पुर्पक्षका लागि अभियुक्तलाई थुनामा राख्ने वा तारेखमा छाड्ने भन्ने आदेश दिने गर्दछन् । यसरी मुद्दा दायर भएपछि सामान्यतया दुई वर्षभित्र अभियुक्तहरु दोषि वा निर्दोष के हुन् भन्ने फैसला अदालतले गर्छ ।
रविको तर्फबाट बयान गर्दै आएका कानुन व्यवसायीले भने बयानको कुन व्यहोराले म्याद थप गर्नुपर्ने हो भन्ने स्पष्ट नभएको भन्दै फेरि हिरासतमै राखिरहनुपर्ने कारण नभएको बताउँदै आएका छन् ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ भने अनुसन्धानमा सहयोग पुर्याउन काठमाण्डौबाट प्रहरीको विशेष अनुुसन्धान टोली पनि चितवन आएको छ ।
यसैबीच नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलसहित पत्रकारको टोलीले चितवन पुगेर बिना पूर्वाग्रह घटनाको अनुसन्धान गर्न आग्रह गरेका छन् ।
टोलीले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल र हिरासतमा रहेका रवि लामिछाने र पत्रकार युवराज कँडेललाई पनि भेटेको छ ।
साउन २० गते राति नारायणगढको होटल कङ्गारूमा झुण्डिएको अवस्थामा पुडासैनीको शव भेटिएको थियो । शालिकरामले आत्महत्या गर्नुपुर्व रेकर्ड गरेको भिडियो सार्वजनिक भएको भोलिपल्ट लामिछाने, कँडेल र कार्कीलाई काठमाण्डौबाट पक्राउ गरि चितवन लगिएको हो ।
भिडियोमा उनले तीनैजनाले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको दाबी गरेका छन् । आत्महत्यामा दुरूत्साहन दिएको कसुर प्रमाणित भए २०७५ भदौ १ देखि जारी मुलुकी अपराध संहिताअनुसार पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ ।

