८ भदौ, एजेन्सी ।
साविक विजेता युभेन्टसले जितसहित टालियन सिरी ए फुटबलको नयाँ सिजनको थालनी गरेको छ । डिफेन्डर जर्जियो किएलिनीको एकमात्र गोलमा युभेन्टसले नयाँ सिजनका लागि कठिन जित निकालेको छ ।
शनिबार राति भएको खेलमा रोनाल्डोसहितको युभेन्टसले पार्मालाई १–०ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा युभेन्टसको जितमा कप्तान जर्जियोले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको २१औं मिनेटमा एलेक्स सान्ड्रोको पासमा गोल गरेका थिए । ।
रोनाल्डोले युभेन्टसका लागि अर्को गोल गरेका थिए । तर भिएआर मार्फत हेर्दा अफसाइड भएको देखिएपछि उनको गोलले मान्यता पाएन ।
अग्रपङ्तिमा सुपरस्टार क्रिस्टियानो रोनाल्डो, गोन्जलो हिगुआइन र डग्लस कोस्टाजस्ता स्तरीय फरवार्ड उतार्दै घरेलु टोलीमाथि लगातार दवाव सिर्जना गरेपनि युभेन्टसले थप गोल गर्न सकेन । किएलिनीको गोल नै निर्णायक बन्यो ।
पछिल्लो समय ट्रान्सफर बजारमा चर्चित रहेका अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला र नयाँ डिफेन्डर म्याथिस डे लिग्ट पुरै समय बेन्चमा रहे । जितसँगै युभेन्टसको ३ अंक भएको छ । पार्मा अंकविहीन छ ।