काठमाडौं, माघ २७
दार्चुलामा निर्माण सम्पन्न चमेलिया जलविद्युत आयोजनाले आजदेखि उत्पादन सुरु गरेको छ । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. १ बलाँचमा निर्माण सम्पन्न ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको एक कार्यक्रमका बीच आज प्रधानमन्त्री शेरवहादुर देउवाले समुद्घाटन गरे ।
आयोजनास्थल बलाँचमा आयोजित समुद्घाटन समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री देउवाले सुदूरपश्चिम जलविद्युत्मा नेपालकै धनी भएको बताए । उनले सुदूरपश्चिमबाट उत्पादन हुने विद्युत्मा पहिलो हक सुदुरपश्चिमकै जनताको हुने भन्दै जलविद्युत् आयोजना नजिकका बासिन्दालाई निशुल्क विद्युत् उपलब्ध गराउने उद्घोष गरे ।
कार्यक्रममा उपप्रधानमन्त्री एव्म उर्जामन्त्री कमल थापाले ४० प्रतिशत नेपाली अझै पनि विद्युतको पहुँचबाट बञ्चित रहेको भन्दै पाँच बर्षभित्र प्रत्येक नेपालीको घरमा विजुली पुर्याउने प्रतिवद्धता जनाए ।
दार्चुला र बैतडीको सिमाना भएर बग्ने चौलानी नदीमा सन् २००६ देखि निर्माण थालिएको यस आयोजना सन् २०११ सम्ममा निर्माण सम्पन्न भइसक्नुपर्ने भएपनि विविध कारणले ढिला हुन पुगेको थियो । अब चमेलिया विद्युत् उत्पादन गृह र जलाधार क्षेत्रका बासिन्दाले निशुल्क रुपमा विद्युत् उपभोग गर्न पाउने भएका छन् ।