१७ भदौ, काठमाडौं ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र माल्दिभ्सका विदेशमन्त्री अब्दुल्ला शाहीदबीच सोमबार मालेमा दुईपक्षीय वार्ता भएको छ ।
परराष्ट्र मन्त्रालयले जनाए अनुसार दुई मन्त्रीबीच आपसी चासो, व्यापार, पर्यटन, जलवायु परिवर्तन र क्षेत्रीय तथा विश्वमामिलामा सहयोग बारेमा कुराकानी भएको थियो ।
दुवै मन्त्रीले आपसी सम्बन्ध नयाँ उचाईमा पुर्याउने विषयमा पनि सहमति जनाएका छन् । जलवायु परिवर्तनको समस्या समाधानका लागि हिमाली देश र आइल्यान्ड देशबीच आपसी सम्बन्धमा परराष्ट्रमन्त्री ज्ञवालीले जोड दिएको बताइएको छ ।
उनले माल्दिभ्सका विदेशमन्त्रीलाई सगरमाथा सम्वादको अवसरमा नेपाल भ्रमणको निम्तो पनि दिएका थिए । सो सम्मेलन अप्रिल २०२०मा नेपालमा गर्ने कार्यक्रम रहेको छ ।
उक्त अवसरमा माल्दिभ्सका विदेशमन्त्रीले निम्तो स्वीकार गरेका थिए । परराष्ट्रमन्त्रीले सो अवसरमा नेपालीलाई माल्दिभ्समा रोजगारीको अवसरका लागि धन्यवाद समेत दिएका थिए ।
जवाफमा माल्दिभ्सका विदेशमन्त्रीले त्यहाँका विद्यार्थीलाई खासगरी मेडिकल साइन्स अध्ययनको अवसर नेपालले दिएकोमा धन्यवाद दिएका थिए ।
दुई विदेशमन्त्रीले पर्यटन क्षेत्रको प्रवद्र्धनमा आपसी सहयोग आदानप्रदानमा सहमति जनाएका छन् । नेपालका परराष्ट्रमन्त्रीले सो अवसरमा नेपाल भ्रमण वर्ष २०२०का सन्दर्भमा माल्दिभ्सका पर्यटकलाई नेपाल जान प्रोत्साहित गर्न समेत त्यहाँका विदेशमन्त्रीलाई आग्रह गरेका थिए ।