भदौ १९, काठमाडौं । पहिलोपटक फिफा विश्वकपमा सिधै दोस्रो चरणको खेल खेल्ने मौका पाएको नेपालले बिहीबार कुवेतविरुद्ध खेल्दै विश्वकप छनोटको प्रारम्भ गर्दैछ ।
खेल जविर अल अहमेद इन्टरनेसनल मैदानमा नेपाली समयअुनसार आज राति १०ः४५ बजेपछि सुरु हुनेछ । घरेलु टोली कुवेतलाई स्तब्ध पार्दै नेपाल विश्वकप छनोटको दोस्रो चरणलाई सुखद सुरुवात गर्ने लक्ष्यमा मैदान उत्रनेछ ।
युवा जोशले भरिएको नेपाली टोलीको लागि शारीरिक र मानसिक रुपमा बलियो कुवेतविरुद्ध असहज पक्कै हुनेछ । तर, नेपाल कुवेतविरुद्ध अंक खोस्ने लक्ष्यमा नै मैदान उत्रनेछ ।
नेपाल र कुवेत हालसम्म ६ पटक आमने समाने भएका छन् । ‘हेड टु हेड’ मा नेपाल कुवेतसँग निकै पछि छ । चैत पहिलो साता भएको मैत्रीपुर्ण खेलमा कुवेतलाई गोलरहित बराबरीमा रोक्न सक्नु नै नेपालको अहिलेसम्मको बहादुरी प्रदर्शन हो ।
६ भेटमा नेपालले २२ गोल खादा १ गोल मात्रै फर्काएको छ । त्यो एक गोल १९८२ को एसियन गेम्समा रहेको थियो ।
कुवेतसँगको लगातार हारको श्रृंखला नेपालले यसैवर्ष तोडेको थियो । मार्चमा खेलिएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोकेको थियो ।