२८ भदौ, काठमाडौँ ।
नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतपरिणाम आउन सुरु भएको छ ।
कमिटीको सचिव पदमा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव केशवकुमार विष्ट पराजित भएका छन् । ३ सचिव पदका लागि भएको निर्वाचनमा दीपकहर्ष बज्राचार्य, तुलसी थापा र रामजीबहादुर श्रेष्ठ निर्वाचित भए ।
बज्राचार्यले २५, थापाले २१ र श्रेष्ठले १८ मत पाए । सबैभन्दा कम १७ मत पाएका विष्ट भने पराजित भए । अहिले मतगणना जारी छ । ललितपुरको सातदोबाटोस्थित कमिटीको कार्यालयमा शनिबार बिहान निर्धारित समयभन्दा केही ढिला गरी मतदान भएको थियो ।
मतदाता २७ जना रहेको सो निर्वाचनको पर्यवेक्षण अन्तराष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाका प्रतिनिधिहरुले गरिरहेका छन । कमिटीको नयाँ कार्यसमितिको अध्यक्षको पदमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा उत्रिएका छन् ।
दुवै जना नेकपा निकट हुन । महासचिव पदमा जीवनरामको प्यानलबाट निलेन्द्रराज श्रेष्ठ र उमेशलालको प्यानलबाट पुरेन्द्रविक्रम लाखेले उम्मेदवारी दिएका छन् ।
५ जना उपाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन । उपमहासचिवमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाको मात्र उम्मेदवारी परेको छ ।