२ असोज, एजेन्सी ।
सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा इटालियन च्याम्पियन युभेन्टसले च्याम्पियन्स लिगको पहिलो खेलमा स्पेनको एट्लेटिको म्याड्रिडसँग बराबरी खेल्दै अंक बाँडेको छ ।
समूह डी अन्तर्गत बुधबार राति भएको खेलमा लिएको अग्रता जोगाउन नसक्दा इटालियन क्लब युभेन्टस स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग २–२ को बराबरीमा रोकिएको हो ।
पहिलो हाफमा दुवै तर्फबाट गोल हुन नसकेपछि भ्रमण टोली युभेन्टसले दोस्रो हाफमा २–० को अग्रता लियो । उसका लागि ४८ औँ मिनटमा ख्वान क्वाड्राडो तथा ६५ औँ मिनेटमा ब्लेज माटुइडीले गोल गरेपछि युभेन्टसको अग्रता दोब्बर भयो ।
त्यसपछि घरेलु टिम एथ्लेटिको मड्रिड खेलमा फर्कियो । उसका लागि स्तेफान साविकले ७० औँ मिनेटमा गोल गरे । यस्तै हेक्टर हरेराले ९० औँ मिनेटमा गोल गर्दै खेलमा बराबरी गरेका हुन् ।
यो खेलमा आरोन राम्सीले युभेन्टसबाट डेब्यु गरे । खेलमा रोनाल्डोले गोल गर्न सकेनन् । यही समुहको अर्को खेलमा लोकोमोटिभ मस्कोले बायर लिभरकुसेनमाथि २–१ को जित निकालेको छ ।
जितसँगै समूह ‘डी’ मा मस्को ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । एट्लेटिको र युभेन्टस समान १ अंक जोडेर दोस्रो र तेस्रो स्थानमा रहँदा लिभरकुसेन अंकविहीन हुदै पुछारमा छ ।