६ असोज, विराटनगर ।
जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध बार्बाडोस ट्राइडेन्टसविरुद्ध गुयाना अमेजन वारियर्स १२ रनले विजयी भएको छ ।
वेस्ट इन्डिजमा भएको खेलमा वर्षा बाधक बनेपछि डिएल मेथडका आधारमा गुयाना १२ रनले विजयी भएको हो । गुयानाले १० ओभरमा २ विकेट गुमाएर ७७ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो ।
वर्षा रोकिएपछि पुनः सुरु भएको खेल १४ ओभरमा झारिएको थियो । गुयानालाई २४ बलमा २० रनको लक्ष्य दिइएको थियो । तर, फेरि एक ओभर खेलेपछि पानी परेपछि गुयानालाई डिएल मेथडका आधारमा विजयी गराइएको हो ।
गुयानाको जीतमा ब्रेन्डन किङले नटआउट ५१, सी हेमराजले २१, शिमरोन हिटमायरले २ र कप्तान सोयब मलिकले नटआउट ४ रन बनाए । बलिङ सन्दीप लामिछाने र जेपी डुमिनीले एक–एक विकेट लिए ।
गुयानाले ६ खेलेकोमा ६ खेलमै जीत हासिल गर्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । यता सन्दीपआवद्ध बार्बाडोस ५ खेलमा ३ मा हार र २ खेलमा जीत निकाल्न सफल भएको छ ।
बार्बाडोस तालिकाको चौथो स्थानमा छ । सन्दीपको टिमको छैटौं खेल भोलि बिहान क्रिस गेलको टिम जमैका तल्लावाजविरुद्ध छ ।