६ असोज, काठमाडौं ।
भारतबाट भन्सार छली ल्याएको ५५ थान मोबाइल प्रहरीले बरामद गरेको छ ।
महिन्द्राको गाडीमा फल्सबटम बनाई अवैध रुपमा राजधानी भित्र्याउन लागेको मोबाइल प्रहरीले बरामद गरेको हो ।
आइतवार राति थानकोट बलम्बुबाट काठमाडौंतर्फ आइरहेको बि एल १२ सि ए १४५८ नम्बरको भारतीय गाडीमा राजस्व छलेर ल्याएको ५५ थान मोबाइल बरामद गरिएको महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख शंकर खड्काले जानकारी दिए ।
प्रमुख खड्काका अनुसार मोबाइलसँगै २ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिपक महाजान र मोहम्मद चाद रहेका छन् ।
बरामद गरिएका मोबाइलहरु आइफोन, सामसुङ, एमआइ, हुवावे लगायत कम्पनीका रहेका छन् । जसको अनुमानित बजार मूल्य १३ लाखभन्दा बढी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीको लागि राजश्व कार्यालय ललितपुर पठाइएको छ ।