२६ असोज विराटनगर ।
विवाहपछि मागेजति दाइजो नपाएको निहुँमा नेपाली मुलकी एक महिलाको भारतमा हत्या भएको छ । विवाहपछि भारतको जोगवनी गएकी विराटनगर–११ पञ्चमुखीका मनिकचन्द सहनीकी २२ वर्षीया छोरी रञ्जनादेवीको अररिया जिल्लाको परवाना नदीमा मृत अवस्थामा शव फेला परेको छ । उनको जोगवनीदेखि करिब १० किलोमिटर पर पर्ने अररिया जिल्ला स्थित परवाना नदीको मिरगन्ज पुल नजिकै शव भेटिएको हो ।
खोलामा विभत्स अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको भारत अररियाका भीम बहरदारसँग बिवाह भएको थियो । बिवाहपछि मागेजति दाइजो नल्याउको निहुँमा हत्या गरी शव खोलामा फालेको माइती पक्षले दाबी गरेका छन् । महिलाका आफन्तको उजुरी पछि भारतीय प्रहरीले युवतीका श्रीमानसहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्रीमान भिम बहरदार, जेठाजु अर्जुन बहरदार, ससुरा सैनी बहरदार रहेका छन् ।
गएको फागुनमा भिम बहरदारसँग रञ्जनाको मागी विवाह भएको थियो । मृतकका हजुरबुबा उमालाल सहनीका अनुसार विवाहमा माइती पक्षले दिएको दाईजोले नपुगेको भन्दै बारम्बार मानसिक यातना दिएपछि माईतीपक्षले केही महिना अघि मोटरसाइकल किनिदिएको थियो । त्यसपछि पनि बहरदार परिवारले पसल गर्न भन्दै पून दुई लाख रुपैयाँ मागेको थियो । पैसा माग्दै यातना दिएपछि उनी केही दिन अघि माइत आएकी थिइन ।