१ कार्तिक, काठमाडौं । वुमेन च्याम्पियन्स टि-२० लिग क्रिकेट प्रतियोगितामा शुक्रबारको पहिलो खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ९५ रनको सामान्य लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९४ रन बनायो । पोखराका लागि कविता कुँवरले २३ बलमा २ चौका सहित सर्वाधिक २२ रन बनाउदै अविजित रहिन् । त्यस्तै सरस्वती मगर १० रनमा अविजित रहिन् । पोखराको कुनै पनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् ।
पोखराले तेस्रो ओभरको तेस्रो बलमा ओपनर रुबी पोदरलाई १ रनमा गुमाएको थियो । उनलाई सोनु खड्काले विकेटकीपर ज्योती पाण्डेबाट क्याच आउट गराइन् । छैटौं ओभरको पहिलो बलमा विन्दु रावललाई सवनम राइले ५ रनमा पाण्डेबाट क्याच आउट गराइन् । दशौं ओभरको तेस्रो बलमा रेवती धामीलाई सवनम राइले १२ रनमा पेभिलिएनको बाटो देखाइन् ।
१४ ओभरको दोस्रो बलमा कप्तान सिता राना मगर १६ रनमा रन आउट हुन पुगिन् । उनी यसअघि खेलमा पनि रनआउट भएकी थिइन् । १५ औं ओभरको पहिलो बलमा अन्जली चन्द १५ रनमा रन आउट भइन् ।
कविता कुवरसँग रनमा तालमेल गर्न नसक्दा चन्द रन आउट हुन पुगेकी थिइन् । चन्दले १९ बलमा २ चौका प्रहार गरिन् । सरस्वती मगर रनमा अविजित रहिन् । विराटनगरकी सवनम राइले ४ ओभरमा मात्र ८ रन खर्चेर २ विकेट लिइन् । सोनु खड्काले ४ ओभरमा १६ रन खर्चेर १ विकेट लिइन् ।