एजेन्सी,कात्तिक २
फ्रेन्च लिग वानमा विङ्गर डि मारियाको दुई गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फराकिलो जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले ९ खेलाडीमा समेटिएको नाइसलाई उसकै मैदानमा ४–१ को फराकिलो जित निकालेको हो ।
पीएसजीको जितमा एन्जल डि मारियाले दुई तथा केलियन एमबाप्पे र मौउरो इकार्डीले समान १–१ गोल गरे । नाइसका इगनाटस गनागोले सान्त्वना गोल फर्काए ।
एलिनाज रिभेइरा स्टेडियममा पीएसजीले खेलको १५औं मिनेटमा डि मारियाको गोलबाट खेलमा शुरुवाती अग्रता बनायो । उनले मौउरो इकार्डीको पासमा गोल गरेका थिए । २१औं मिनेटमा मारियाले थोमस म्युनियरको पासमा गोल गर्दै अग्रता दोब्बर पारे ।
६७औं मिनेटमा इग्नाटसले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, त्यसपछि दुई मिनेटको अन्तरमा नाइस ९ खेलाडीमा समेटिएपछि घरेलु टोली समस्यामा परेको थियो । वेलान सिप्रिन दोहोरो पहेँलो कार्ड तथा क्रिस्टोफो हेरेले सोझै रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । यसको फाइदा पीएसजीले उठायो ।
८३औं मिनेटमा पाब्लो सारावियाको स्थानमा मैदान प्रवेश गरेका केलियन एमबाप्पेले ८८औं मिनेटमा गोल गर्दै खेललाई ३–१ को आरामदायी अवस्थामा ल्याए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मौउरो इकार्डीले गोल गर्दै पीएसजीलाई ४–१ को फराकिलो जित दिलाए ।जितसँगै पीएसजी १० खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा रहेको छ भने नाइस १३ अंकसहित नवौं स्थानमा छ ।