२ कात्तिक, काठमाडौँ ।
गायक दुर्गेश थापाको पछिल्लो ‘देउसी गीत’ विवादमा परेको छ । १० दिन अगाडि मात्र युट्युबमा अपलोड गरिएको सो गीतका केही शब्दहरुलाई लिएर धेरैले आलोचना गरेका छन् । गीतका शब्दहरुले ‘देउसी’ लाई विकृत बनाएको र रक्सीको खुलेआम प्रचार गरिएको तर्क आलोचकहरुको छ ।
‘बीच्च बीच्चमा’ बोलको तिजगीतबाट चर्चामा आएका उनको ‘देउसी गीत’ मा अहिलेसम्म १७ लाखभन्दा बढी भ्यूज पाएको छ । ५० हजारले लाइक गरेका छन् । डिस्लाइक संख्या ५ हजार ८ सय छ । टिकटकमा पनि गीत निकै चलेको छ ।
हुन पनि देउसी गीतले देउसीलाई मोर्डनाइज गर्ने नाममा बढी नै उछृङ्खलता प्रदर्शन गरिएको छ । म्युजिक भिडियो हेर्दा बियरको विज्ञापनजस्तो देखिएको छ ।
नकारात्मक प्रतिक्रियाहरु धेरै आएपछि दुर्गेशले शुक्रबार युट्युबमा कमेन्ट नै ‘टर्न अफ’ गरिदिएका छन् । बिहीबारसम्म देखिएका हजारौं प्रतिक्रिया शुक्रबार एउटा पनि देखिँदैनन् भने नयाँ कमेन्ट लेख्न पनि नमिल्ने बनाईएको छ ।
र्याप शैलीमा यो देउसी गीत तयार पारिएको छ । गीतको मेलोडीले युवाहरुलाई छुन्छ । दुर्गेशको गायकीमा पनि निकै मिहिनेत झल्किन्छ । तर, केही शब्दमा चुक्दा उनको मिहिनेत ओझेलमा परेको भान हुन्छ ।‘ह्याप्पी तिहार ह्याप्पी तिहार चिसो बियर’ भन्दै गीत सुरु हुन्छ ।
क्लव भित्र सुटिङ गरेर बनाइएको म्युजिक भिडियोमा युवायुवतीहरु बियर पिएर झुमेको देखाइएको छ । रक्सी चुरोट पिएको दृष्य देखाउँदा सचेतना सन्देश साथसाथै राख्नुपर्ने नियमको पालना गरिएको छैन ।
https://youtu.be/06xttOM_J_c