एजेन्सी, कात्तिक ३
इंग्लिस प्रिमियर लिगमा ब्राजिलियन फरवार्ड ग्याब्रियल जेससले म्यानचेस्टर सिटीका लागि ५०औं गोल पूरा गरेको खेलमा सिटीले सहज जित हात पारेको छ ।सिटीले शनिबार क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । अर्को एक गोल डेभिड सिल्भाले गरे ।
घरेलु टोलीलाई दवावमा राखेपनि सिटीको गोलको लागि ३९औं मिनेट कुर्नुपरेको थियो । ३९औं मिनेटमा ब्राजिली ग्याब्रियल जेससले बर्नाडो सिल्भाको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाए ।
सिटीका लागि यो जेससको ५०औं गोल हो । उनले ११० खेलमा ५० गोलको आँकडा पार गरेका हुन् । जेसस २०१७ मा ब्राजिली क्लब पाल्मेरसबाट सिटीमा अनुबन्धित भएका थिए ।
त्यसको दुई मिनेटपछि रहिम स्ट्रलिङको पासमा कप्तान डेभिड सिल्भाले गोल गर्दै सिटीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ५२औं मिनेटमा रहिम चुके । ६८औं मिनेटमा जेससको प्रहारलाई गोलरक्षक वेने हेन्नेसेले बचाइदिए । ७२ औ मिनेटमा जेससको अर्को प्रहारलाई गोलरक्षकले विफल पारिदिए ।
७६औं मिनेटमा क्रिस्टियन बेन्टेकेको शक्तिशाली हेडर सिटीका गोलरक्षक इडर्सन मोरेसले बचाउदा प्यालेस गोल अन्तर कम गर्नबाट चुक्यो । ८१औं मिनेटमा केभिन डि ब्रुयनको हेडर पोस्टमा लाग्दै बाहिरियो । त्यसपछि दुवै टोलीले पाएको केही मौका खेर फालेपनि सिटी विजयी हुन सफल भयो ।
जितसँगै सिटीले शीर्षस्थानको लिभरपुलसँगको अंक दुरी छोट्याएको छ । सिटी ९ खेलबाट १९ अंक जोडेर दोस्रो स्थानमा छ । एक खेल कम खेलेको शीर्षस्थानको अपराजित रहेको लिभरपुलको २४ अंक छ । पराजित क्रिस्टल प्यालेस १४ अंकसहति छैटौ स्थानमा छ ।