३ कात्तिक, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली आउँदो बिहीबार अजरबैजानको बाकु जाने भएका छन् ।
असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलनमा भाग लिन उनी बाकु जाने भएका हुन् । बाकुमा यही अक्टोबर २५ र २६ तारिखमा शिखर सम्मेलन हुँदैछ ।
आइतबार परराष्ट्र मन्त्रालयलले औपचारिक रुपमा घोषणा गरे अनुसार भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी र परराष्ट्र मन्त्रालयका अन्य उच्च अधिकारीहरु सामेल हुनेछन् ।
२६ अक्टोबरका दिन प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली अजरबैजानका राष्ट्रपति इहाम अलियेभले आयोजना गर्ने रात्रिभोजमा २५ अक्टोबरका दिन सहभागी हुनेछन् ।
प्रधानमन्त्रीले शिखर सम्मेलनका क्रममा विभिन्न देशका प्रतिनिधिमण्डलका नेतासँग दुईपक्षीय वार्ता समेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । २३ र २४ तारिखमा मन्त्रिस्तरीय बैठक तथा वरिष्ठ अधिकारीहरुको बैठक २१ र २२ मा हुनेछ । प्रधानमन्त्री ओली २७ अक्टोबरमा स्वदेश आइपुग्ने जनाइएको छ ।