३ कात्तिक, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेकाले तत्काल सभामुखको निर्वाचन हुने अवस्था नरहेको बताएका छन् ।
प्रमुख सचेतक गुरुङले एउटै दलको सभामुख र उपसभामुख हुन नपाउने भन्दै सर्वाेच्च अदालतमा दायर गरिएको मुद्दा विचाराधिन रहेकाले सभामुखको निर्वाचनबारे टिकाटिप्पणी गरिरहने नमिल्ने पनि स्पष्ट पारे ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सभामुखको निर्वाचन हुनका लागि उपसभामुखले राजीनामा दिनुपर्ने अवस्था रहेको पनि बताए । सभामुख र उपसभामुख दुवै पद खाली भए दलहरुबीच सहमतिको आधारमा उम्मेदवार तय गरेर निर्वाचन गर्न सकिने प्रमुख सचेतक गुरुङको बुझाई छ ।
यौन दुराचारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका थिए । सोही पदका लागि निर्वाचन गर्न सर्वोच्च अदालतमा विचाराधिन मुद्दाले असहज बनाएको प्रमुख सचेतक गुरुङको भनाई छ ।
प्रमुख सचेतक गुरुङले सभामुखको निर्वाचन गर्ने अवस्थानै नभएका बेला त्यसमा व्यक्तिले दावी गर्नुको कुनै औचित्य नरहेको पनि बताए ।