९ कात्तिक, काठमाडौँ ।
‘इकु’ को परिचय बनाएका सुलेमान शंकरले फिल्म ‘ब्ल्याक बोर्ड’बाट निर्देशनमा डेब्यू गर्ने भएका छन् । शुक्रबार भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत् फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो ।
बाल मनोविज्ञानमा आधारित भएर बन्न लागेको फिल्मको प्रस्तुतकर्तामा अर्जुन सापकोटा र सर्वाणी पाण्डे रहेका छन् । नेपाली समाजमा अभिभावकले आफ्नो सन्तानको हेरविचार गर्न नसक्दा उत्पन्न हुने समस्या र समाधानका उपायहरुको खोजी फिल्मले गर्ने निर्देशनमा होमिन लागेको सुलेमानले जानकारी दिए । कार्यक्रममा निर्देशक सुलेमानले फिल्मलाई उत्कृष्ट बनाउने दाबी गरे ।
सुलेमानसँगै फिल्ममा सरोज खनाल, निर्मल शर्मा, शिशिर भण्डारी, अशु न्यौपाने, भेषराज गौतम, बाल कलाकार दिक्पाल गौतम, जेनिश थपलिया र रक्षा कँडेलको अभिनय रहनेछ ।
सम्मान इन्टरटेनमेन्ट र एस.एम.एस फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको कथा किरण माइकल घिमिरे र सुदिप आत्रेयले लेखेका छन् । फिल्म काठमाडौं, चितवन र नवलपरासीमा खिचिने जनाईएको छ ।
जनक थपलिया र रविन लिवाङ कार्यकारी निर्माता रहने ‘ब्ल्याक बोर्ड’ मा सम्मान कँडेल, निरभिङण घिमिरे, सुरेश कँडेल र सरला पाण्डे निर्मातामा रहेका छन् । उनीहरुलाई लगानीमा प्रकाश लामा, विशाल पौडेल र प्रियान्स कँडेलले सघाउनेछन् । फिल्ममा किरण माइकल घिमिरेको संगीत रहनेछ ।









