नेपालकै दोस्रो लामो पुल निर्माणको काम सम्पन्न

नेपालकै दोस्रो लामो पुल निर्माणको काम सम्पन्न

१३ कार्तिक, दाङ । दाङमा नेपालकै दोस्रो लामो पुल निर्माणको काम सकिएको छ । राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माणको काम सकिएको हो ।

झण्डै एक अर्ब रुपैयाँको लागतमा निर्माण भएको पुलको लम्बाई ८ सय ६० मिटर तथा चौडाई १० मिटर रहेको पुल योजना सेक्टर नम्बर ३ का योजना प्रमुख सुनिलबाबु पन्तले जानकारी दिए ।

आर्थिक वर्ष २०७२/७३ देखि सुरु भएको निर्माणको काम आर्थिक वर्ष २०७६/७७ भित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । पुल निर्माणको काम सकिए पनि त्यहाँसम्म पुग्ने सडक निर्माणको काम भइरहेकाले आउने माघ महिनामा उद्घाटन गरिने पन्तले बताए ।

पुल बनेसँगै देउखुरीको राप्ती नदी वारपार गर्न सहज भएको छ । पुल निर्माण सकिएपछि झण्डै डेढ घण्टा लाग्ने यात्रा १५ मिनेटमै वारपार गर्न सकिने भएपछि स्थानीय हर्षित भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.