१६ कात्तिक, विराटनगर ।
विगत १६ वर्षदेखि छठपर्वको पूजाका लागि कठोर ब्रत बस्दै आएका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले यस वर्षपनि छठको कष्ठकर व्रत बसेका छन् । निराहार व्रत बसेका मेयर पराजुलीले यसपटक पनि विराटनगर– ३ स्थित शिवपञ्चायन मन्दिरबाट करिब साढे तीन किलोमिटर दण्ड प्रणाम गर्दै सिंघिया खोलामा पुगेर अस्ताउँदो सुर्यलाई अर्घ दिने भएका हुन् ।
मेयर पराजुलीले शनिबार शिवपञ्चायन मन्दिरमा पूजा आराधाना गरी श्रीमती रञ्जिता पराजुली र भतिजा प्रमिस पराजुलीसँगै साढे १० बजे दण्डप्रणाम गर्न सुरु गरेका छन् । सिंघिया खोला पुग्न उनीहरुलाई करिब साढे ४ घण्टा लाग्ने मेयर पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाले जानकारी दिए । पहिले पहिले आफ्नो र आफ्नो सन्तानको लागि व्रत बस्ने भएपनि यसवर्ष विराटनगरवासीको सुख र समृद्धिका लागि भगवानसँग कामना गर्ने मेयर पराजुलीले बताए ।

दण्ड प्रणाम गर्दै गरेका मेयर पराजुलीलाई भेट्न उपमेयर इन्दिरा कार्की, कलाकार दीपाश्री निरौला लगायत अन्य व्यक्तिहरु पनि पुगेका थिए । कलाकार दीपाश्री निरौलाले धर्मकर्ममा आस्था राख्ने मेयर पराजुलीले लोककल्याणका लागि गरेको यो व्रत साँच्चै नै प्रेरणादायी र अकल्पनीय रहेको बताईन् ।
मेयर भएपछि पराजुली अघिल्लो २ वर्षदेखि विराटनगरवासीको सुख र समृद्धिका लागि यस्तै कठोर व्रत बस्दै आएका छन । आफूले गरेका भाकल पूरा भएमा र भाकल पूरा गराउन छठको दिन यसरी घस्रेर हिँड्ने गरिन्छ ।



