सबै सल्लाहकारलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन

सबै सल्लाहकारलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन

२३ कात्तिक, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका सबै सल्लाहकारलाई राजीनामा दिन निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार बालुवाटारमा मुख्य  सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार अस्गर अलीसहित सबै सल्लाहकारलाई बोलाएर यस्तो निर्देशन दिएका हुन्।

‘शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीज्यूले छलफल गर्नु भएको छ’, स्रोतले भन्यो, ‘आवश्यक परे फेरि नियुक्त गर्न सक्ने, तर तत्कालका लागि राजीनामा दिएर काम गर्ने बाटो खोलिदिन निर्देशन दिनुभएको छ।’  नयाँ ढंगले काम गर्न सजिलो होस् भनेर प्रधानमन्त्री ओलीले सल्लाहकारलाई राजीनामा दिन निर्देशन दिएको स्रोतको दाबी छ। स्रोतले भन्यो, ‘केही दिनमा सबै कुरा थाहा हुन्छ।’

निर्देशन सुनेका एक सल्लाहकारले प्रधानमन्त्रीको सजिलोका लागि सबैले राजीनामा दिने विषयमा कुरा भएको बताए । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको सचिवालय र सल्लाहकारको पार्टीभित्र चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

ओलीले केही समयअघि मन्त्रिपरिषद् हेरफेर हुने संकेतसमेत गरेका थिए । पार्टी भित्र शीर्ष नेताको असन्तुष्टिलाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीले नयाँ ढंगले काम गर्न चाहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.