४ मंसिर, काठमाडौं ।
अधिकारकर्मीहरुले बाल गृहको अनुगमनमा कडाई गर्न सरकारसँग माग गरेका छन ।
बाल अधिकारकर्मी गौरी प्रधानले संवैधानिक व्यवस्था अनुसार बाल अधिकारको संरक्षण सुनिश्चित हुनेगरी बनेको ऐन, नियम र कानुनको प्रभावकारी कार्वान्वयनका लागि पनि सरकारले बाल गृहको अनुगमनमा कडाई गर्नुपर्ने पनि स्पष्ट पारिन् ।
अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा राजनीतिक स्थिरता नभएका कारण नेपालले बाल अधिकारको क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्न नसकेको पनि स्मरण गराइन् ।
प्रधानले नेपालले लैगिंक समानताको दृष्टिकोणबाट भने बाल अधिकारको क्षेत्रमा प्रगति गरेको मान्नुपर्ने धारणा पनि राखिन् । कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले बाल अधिकारको संरक्षणका लागि प्रदेश र स्थानीय तहको सरकारले पनि उत्तिकै ध्यान दिन जरुरी रहेको बताए ।
उनले बाल अधिकारसँग सम्बन्धित संघ, संस्थाहरुले पनि दीगो विकास लक्ष्य हासिल हुने गरी बाल अधिकारको क्षेत्रमा काम गर्नुपर्ने आवश्यक्ता औंल्याए । सचिव घिमिरेले बाल अधिकारमैंत्री हुने गरी कानुन निर्माण गर्न प्रदेश र स्थानीय सरकारलाई पनि आग्रह गरे ।
सचिव घिमिरेले सरकारले बाल अधिकारको हनन् हुन नदिने गरी विभिन्न कानुनहरुको आवश्यक परिमार्जन गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे ।