४ मंसिर, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व गर्ने निर्णय गरेको छ । नेकपा सचिवालयको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी संचालन गर्ने कार्यकारी अधिकार भने अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।
दुई अध्यक्षबीचको आपसी परामर्शमा पार्टी र सरकार संचालन गर्ने निर्णय पनि पार्टीले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री ओली र दाहालको वरियताक्रम भने यथावत रहनेछ । बैठक दुवै अध्यक्षको संयुक्त अध्यक्षतामा संचालन हुनेछ । तर पार्टी संचालन गर्ने कार्यकारी अधिकार भने दाहाललाई दिइएको पनि उनले बताए ।
अध्यक्ष दाहालले यस अघि पार्टी संचालनको कार्यकारी अधिकार भने आफूलाई दिन प्रधानमन्त्री एवम् पार्टीका अर्का अध्यक्ष ओलीसँग आग्रह गरेका थिए ।