८ मंसिर, काठमाडौं । चर्चित नेपाली ब्यान्ड ’१९७४ एडी’का पूर्वसदस्य तथा बाँसुरीवादक मनोज सिंह संगीत विधाको सबैभन्दा ठूलो ग्रामी अवार्डको मनोनयनमा पर्ने पहिलो नेपाली कलाकार बनेका छन् । उनी संलग्न देवा प्रेमलको ’देवा’ एल्बम ग्रामीको बेस्ट न्यु एज एल्बम विधातर्फ मनोनयनमा परेको हो ।
मनोज सांगीतिक समूह ’सुकर्म’का संस्थापक सदस्य हुन् । १९७४ एडीका ’सम्झी बस्छु’, ’पिँजडाको सुँगा’ जस्ता चर्चित गीतहरुमा उनको बाँसुरीवादनलाई धेरै स्रोताले मन पराएका छन् ।
मनोजले ग्रामी मनोनित संगीतकार उत्तल, जोन डेन्समोर, उस्ताद अलि अकबर खान, तबलावादक स्वपन चौधरी, पिटर रोवानलगायतका विश्व प्रसिद्ध संगीतकारहरुसँग काम गरिसकेका छन् । हाल अमेरिकाको सान फ्रान्सिस्कोमा बस्ने उनले पच्चीसभन्दा बढी देशमा आफ्नो बाँसुरीको धुन फैलाइसकेका छन् । प्रेमल र मिटेनसँग मनोजले यसअघि सोल इन वन्डर, डिपर लाइफ, मन्त्रज फर लाइफलगायतका एल्बममा काम गरिसकेका छन् ।
मनोजले आफ्नो फेसबुक पेज मार्फत यो आफूलाई प्रेमल र मिटेनले सुनाएको भन्दै गत बुधबार फेसबुक मार्फत खुसी साट्दै लेखेका छन्, ‘र ग्रामी अवार्डको उपाधि जान्छ… आज बिहान देवा र मिटेनले मलाई खुसीको खबर सुनाए। हामी ग्रामी अवार्डको मनोनयनमा पर्यौं। यो सबैका लागि सुखद समाचार हो। धन्यवाद!’
२०२० जनवरीमा सम्पन्न हुने ग्रामी अवार्डको ६२ औं संस्करणमा विजेताको घोषणा हुनेछ ।