१३ मंसिर, काठमाडौं । हुण्डी कारोबार गरेको अभियोगमा ३८ लाख १२ हजार रुपैयाँ र विभिन्न व्यक्तिहरुको नाममा काटिएको चेक सहित दुई जनालाई प्रहरीले बिहिबार नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १८ को नरदेवीमा रहेको अन्जनी ओभरसिजका सञ्चालक ५८ वर्षीय गोवर्द्धनप्रसाद सरावगी र अर्घाखाँची शितगंगा गाउँपालिका ४ को जोगिनकोटका २३ वर्षीय कृष्णप्रसाद भट्टराई रहेका छन् ।
काठमाण्डौ उपत्यकाभित्र गैरकानुनी रुपमा हुण्डीको कारोबार गरी राजश्व छलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाण्डौको न्यूरोडबाट अवैध रकमसहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीले ३० लाख रुपैयाँसहित कृष्णप्रसादलाई, आठ लाख १२ हजार रुपैयाँ र विभिन्न व्यक्तिहरुको नाममा काटिएको चेकसहित गोवर्द्धनलाई पक्राउ गरेको हो ।