सागमा सहभागी हुनेलाई टेलिकमले निःशुल्क फोरजी सिमकार्ड दिने

सागमा सहभागी हुनेलाई टेलिकमले निःशुल्क फोरजी सिमकार्ड दिने

१४ मंसिर,काठमाडौँ।

नेपाल टेलिकमले यही मंसिर १५ देखि २४ गतेसम्म हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा सहभागी सम्पूर्ण विदेशी खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीलाई लक्ष्य गरेर निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको छ ।

नेपाल टेलिकमको केन्द्रीय कार्यालयले आज विज्ञप्ति जारी गरेर काठमाडौँ, जनकपुर र पोखरामा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीका लागि चार हजार पाँच सय निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको जनाएको छ । सागको पार्टनर स्पोन्सर रहेको नेपाल टेलिकमका सेवाहरु सो खेलमा भाग लिन आउने विदेशी खेलाडी तथा पाहुनाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै काउन्टर राखी साग आयोजक कमिटीले प्रदान गरिरहेको टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

एकताको भावनामा बढोत्तरी गर्नसक्ने ठानिएको साग प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि टेलिकमले खेल अवधिभर खेलस्थलमा अतिरिक्त मोबाइल टावरको व्यवस्था गरेको जनाएको छ । मोबाइल भ्यान तथा खेलस्थल वरपर थप गरिएका अन्य मोबाइल टावरबाट सञ्चालित नेटवर्कले त्यस क्षेत्रमा कम्पनीका सेवा सहजै र तीब्र गतिमा उपलब्ध हुने बताइएको छ ।

कम्पनीले खेलाडी, प्रशिक्षक, अफिसियल, जज, रेफ्रीलगायत सम्पूर्ण खेलकर्मीको आकस्मिक स्वास्थ्य सेवाका लागि स्वास्थ्य हटलाइन सेवा एक महिनाका लागि निःशुल्क उपलब्ध गराएको छ । सोका लागि ११६६ मार्फत कल गरेर यो सेवा लिन सकिने छ । कम्पनीले खेलस्थलमा ग्राहक सेवाका साथै फोरजीलगायत अन्य सेवाको प्रचारप्रसार तथा व्यवसाय प्रवद्र्धन कार्यका लागि स्टलसमेत राख्ने भएको छ ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.